नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त

काठमाण्डौं– नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले मङ्गलबार राति उनलाई सरकार प्रमुखमा नियुक्त गरेका हुन।
विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ।
बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति भएको थियो। राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए।
यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो। बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए।
मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए। युनुस ‘गरिबहरुको बैंक’बाट चिनिएका हुन। उनलाई सरकार प्रमुख बनाउन आन्दोलनकर्ता विद्यार्थीहरुले नै प्रस्ताव गरेका थिए।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन्। उनलाई हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गरेकी थिईन। युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन्।
गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइए पनि जेलमा भने बस्नु परेको थिएन। उपचारका क्रममा फ्रान्समा रहेका ८४ वर्षीय युनुस स्वदेश फर्किने तयारीमा छन्।