‘पुलिस रिपोर्ट’को विषयमा भएको थियो विजय कृष्णमूर्तिजी महाराजको समुह र प्रहरीका बीचमा झडप

काठमाण्डौं– पशुपतिको कोटीहोम स्थलमा शुक्रबार राती विवादित कथाबाचक विजय कृष्णमूर्ति जी महाराजको समुह र प्रहरीका बीचमा भण्डारीले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को विषयले झडप भएको खुलेको छ।

प्रहरीका अनुसार ‘विजय कृष्णमूर्ति जी महाराज’ भनेर चिनिने भण्डारी विभिन्न मुद्दामा पक्राउ परेको र अदालतबाट फैसला भए अनुसार ठगी मुद्दामा २ वर्ष २९ दिन जेलमा बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेका ब्यक्ति हुन। प्रहरीको ‘अपराध रेकर्ड’मा पनि यो कुरा देखिन्छ।

तर, उनले पछिल्लो समय अपराध रेकर्डमा भएका कुनै पनि कुरा उल्लेख नभएको प्रहरी चारित्रिक प्रमाणपत्र बोकेर हिडिरहेका छन्। उक्त प्रमाणपत्रमा कुनै मुद्दा नलागेको भन्ने विवरण ‘लेखाएर’ लिएको पाईएको छ।

प्रहरीले यही विषयमा उनीसँग सामान्य सोधपुर गर्न खोजेको थियो। काठमाण्डौका एसएसपी बसन्त रजौरेका अनुसार उनलाई पक्राउ गर्ने योजना थिएन। शुक्रबार राती जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी भण्डारीलाई कुरेर बसेका थिए। कोटीहोम समापन गरेर पार्किङमा आएपछि प्रहरीले उनलाई ‘महाराजजी एकछिन हामीसँग जानुपर्ने भयो’ भन्दै आग्रह गरे। विजयले प्रहरीको आग्रह अस्वीकार गरे।

बरु उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले। प्रहरी र सरकारका विरुद्ध नारा लगाए। भण्डारीसमेत उत्तेजित भएर फेसबुक लाइभमार्फत ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस्।’ भन्दै समर्थक भेला गरे। यति मात्रै होईन, उनले पशुपतिमा तनाव हुने भन्दै बंगलादेशको अवस्था सृजना गर्ने भड्किलो अभिब्यक्ति समेत दिए।

प्रहरी र भण्डारीको समुहबीच झडप भयो। झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एक जना असई घाइते भएका छन्। राति काठमाण्डौंका एसएसपी रजौरे गौशालामा गएर भण्डारीसँग कुरा गर्न खोजे। तर, उनले रजौरेसँग पनि भेट्न मानेनन्। प्रहरी वृत्त गौशालामा रजौरेले उनका सहयोगीलाई बोलाएर कुरा गरेर फर्किए।

भण्डारीले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को बारेमा सोधपुछ गर्न खोजिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका एक जना अधिकृतले बताए। प्रहरी रिपोर्ट ‘कहाँबाट लिनुभयो ?’ भनेर उनीसँग सोधपुछ गर्न मात्रै खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। उनले भने, ‘उहाँलाई पक्राउ गर्न खोजेका होइनौँ, सामान्य विषयमा बुझ्न मात्रै त्यहाँ प्रहरी पठाएका थियौँ।’

धेरै पटक पक्राउ परेको र कैदमा बसेको भए पनि पुलिस रिपोर्ट कसरी ‘क्लियर’ आयो भन्नेबारेमा प्रश्न उठेको छ। ‘मिलेमतो’मा प्रहरी रिपोर्ट लिएको आशङ्कामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट