मध्येरातमा कोटिहोम आयोजक विजय कृष्णमुर्तीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात, २ जना पक्राउ

काठमाण्डौं– पशुपतिमा कोटिहोमको आयोजना गरेर चर्चामा रहेका कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई पक्राउ गर्ने प्रहरीको योजना असफल भएको छ।
विजयलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार राती कोटीहोम स्थलमै पुगेको थियो। सादा पोशाकमा प्रहरी आफुलाई पक्राउ गर्न आएको थाहा पाएपछि विजयले आफना समर्थकलाई प्रतिवादमा उतारेका थिए। त्यसपछि कोटीहोम स्थलमा केही समय तनावको बातावरण श्रृजना भएको थियो।
प्रहरीबाट जोगाउन उनलाई समर्थकहरुले घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे। फेसबुक लाइभमा आएका विजयले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाए। बंगलादेशको आन्दोलन सल्किएको भन्दै भड्काउ अभिव्यक्ति दिन समेत भ्याए।
काठमाण्डौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताए।
प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले पक्राउ गरेको छ। विजय पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन्।
को हुन विष्णु प्रपन्नाचार्य महाराजजी
विजय भण्डारी गुल्मीको घुर्कोटवस्तु–१ मा १ असार ०४४ मा जन्मिका हुन। उनले प्रारम्भिक शिक्षा गुल्मीबाटै प्राप्त गरे। उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए। त्यसैले उनी पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए। प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आए। थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालयबाट उनले एसएलसी पास गरे।
बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा छोरा पनि टायर चोरेको आरोपमा आश्रमबाट लखेटिएका थिए। एसएलसीपछि भण्डारीले कहाँ र कति पढे भन्ने स्पष्ट छैन। तर उनले भने बैंगलोर लगायत विभिन्न विश्वविद्यालयबाट संस्कृतमा उच्चशिक्षा लिएको दाबी गर्छन्।
०६८ बाट भण्डारीे गेरुवस्त्र धारण गरेर पुराण भन्न थाले। २०६८ वैशाखमा उनले ५ लाख रुपैयाँ जुटाएर कलंकीमा भागवत पुराण लगाए। त्यसबाट राम्रै आर्थिक उपार्जन भएपछि उनले यसैलाई आफ्नो ‘व्यवसाय’ बनाउँदै आएका छन। विभिन्न स्थानमा महायज्ञ, धानाञ्चल, कोटिहोम आदि नाममा धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै त्यसमा उठेको ठूलो दान रकम कुम्ल्याउने गर्छन्।
०६८ सालमै उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नामको संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे। आफ्नो नाम आफैंले बदलेर ‘विष्णु प्रपन्नाचार्य महाराजजी’ राखे। उनले आफ्नो संस्थामार्फत अमेरिकामा धार्मिक कार्यक्रम गर्ने भन्दै पैसा उठाउन थाले। धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए।
कूल खर्च ५ लाख ५० हजार लाग्ने बताएर सुरुमा पेस्कीस्वरुप १–१ लाख उठाईएको थियो। तर, अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको थाहा पाएपछि दाताहरुले पैसा फिर्ता माग्न थाले। केहीलाई उनले चेक दिए। तर, खातामा पैसा थिएन। त्यसपछि पीडितहरु प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म पुगे।
काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा ३३ जनाले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भण्डारीविरुद्ध उजुरी दिएका थिए। अन्ततः २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले भण्डारीलाई दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गर्यो। भण्डारीसँगै उनकी श्रीमती सुलोचनाविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा २०७१ असोज १ गते मुद्दा दायर भयो। एक जनाले ३ लाख रुपैयाँ सुलोचनाको नाममा पठाएकाले उनी पनि फन्दामा परेकी थिइन्।
यो मुद्दामा ६ मंसिर ०७३ मा जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीले फैसला गर्दै विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको सजाय सुनाएको थियो। फैसला हुँदासम्म भण्डारी २ वर्ष २९ दिन थुनामा बसिसकेका थिए। बाँकी ३ महिना र १ दिन सजाय भोगेर भण्डारी १४ चैत ०७३ मा जेलमुक्त भए।
पत्नी सुलोचनालाई तीन लाख रुपैयाँ जरीवाना र ३ महिना कैद सजाय सुनाइयो। भण्डारीले ठगेको पैसा तिर्ने क्रममा सुलोचनाको माइती घर नै लिलाम भएको थियो।