टेलिग्रामका संस्थापक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ, एलन मस्क पनि पक्राउ पर्ने आशंका
काठमाण्डौं– सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक रुसी नागरिक पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परेका छन्। निजी जहाजबाट फ्रान्स पुगेका पाभेललाई अवतरणलगत्तै पेरिसको उत्तरी भागमा पक्राउ गरिएको हो।
बेलायती विश्व सेवा बीबीसीका अनुसार ३९ वर्षीय दुरोभलाई टेलिग्रामको बारेमा परेको उजुरीको आधारमा पक्राउ गरिएको हो। रुसी सरकारलाई सूचना नदिँदा टेलिग्राम सन् २०१८ मा बन्द गरिएको थियो। पछिल्लो समयमा भने सञ्चालनमा थियो।
अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ। केही महिनाअगाडि अमेरिकी चर्चित पत्रकार टकर कार्ल्सनसँगको अन्तर्वार्तामा दुरोभले आफूलाई रुस तथा अमेरिका दुवैतर्फबाट असुरक्षा भएको बताएका थिए।
रुसको युक्रेन हमलामा धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । दुरोको पक्राउपछि अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार भएर अहिले ट्रम्पलाई साथ दिएका विवेक रामास्वामीले सामाजिक सञ्जाल एक्समा एलन मस्कलाई पनि भविष्यमा पक्राउ गर्न सक्ने भन्दै लेखेका छन्, ‘अहिले टेलिग्राम। पछि एक्स ।’
उनको यो भनाईमा मस्कले पनि जवाफ दिएका छन्। उनले लेखेका छन्–‘सत् प्रतिशत ।’