बँदेल प्रकरणले बदनाम भयो प्रहरी, संगठनको छवि दाउमा राखेर हाईप्रोफाईलको चाकरी

राजविराज– वन्यजन्तुको अवैध चोरीशिकारीमा फसेका ‘हाईप्रोफाईल’ जोगाउन षडयन्त्रमा लागेपछि सप्तरी प्रहरी विवादमा परेको छ। अपराधमा संलग्नलाई जोगाउन प्रहरीले गरिरहेको एकपछि अर्को गल्तीले सर्वसाधारण समेत चकित छन्। सर्वसाधारणको नजरमा नेपाल प्रहरीको छवी धुमिल हुँदै गएको छ। प्रहरीको यो कृयाकलपले ‘पहुँच भए जे गर्दा पनि हुन्छ’ भन्ने भाष्य वनिरहेको सरोकारवालाहरु वताउँछन्।
१२ भदौको मध्यराति मारिएको बँदेल, राईफल र गोलीसहित पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवसहित १० जना पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय कन्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले शाह र न्यौपानेसहितको टोलीलाई हनुमाननगर कंकालिनी नगरपालिका–१, कोसीपलार क्षेत्रबाट पक्राउ गरेको थियो।
यसको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कन्चनपुरले घटनास्थलबाटै उनीहरुलाई छोड्न दबाब दिएकाको थियो। तर, इन्स्पेक्टर मिश्रले हाकिमको गलत आदेश अस्विकार गर्दै मारिएको बँदेल, हातहतियार, सवारी साधनसहित दसै जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाए।
भोलिपल्ट विहानसम्ममा यो प्रकरण सर्वसाधारणको जानकारीमा पुगिसकेको थियो। त्यसैले सप्तरी प्रहरीले एउटै घट्नालाई दुईटा बनाएर अभियुक्तहरुलाई उन्मुक्ति दिने खेल सुरु गर्यो। जस अनुसार पहिलो– बँदेल वेवारिसे फेला परेको प्रतिवेदन तयार गर्ने र दोस्रो–पूर्वडीआईजीसहितको टोली हातहतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ परेको प्रतिवेदन बनाउने तयारी गरियो।
यसरी काल्पनिक घट्ना तयार पारेपछि रङ्गेहात पक्राउ परेका पूर्वडीआईजी शाह, बहालवाला सई न्यौपाने, पूर्वउपसभामुखका छोरा आकाशसमेत १० जनालाई बिहीबार साँझ जिम्मा जमानीमा छोडिएको छ। उनीहरूलाई बँदेल मारेको घटनाबाट अलग गरी राती हिँडडुल गरिरहेको अवस्थामा अनुसन्धानका लागि ल्याएकोले छोडिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्य बताउँछन्।
पक्राउ गरिएकासँग बरामद भएको २२ क्यालिबरको राइफल पूर्वडीआईजी शाहको नाममा अनुमति प्राप्त रहेको सप्तरी प्रहरीको दावी छ। तर, अनुमति पत्रको सक्कल प्रति पेस हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको अनुमति पत्र के प्रयोजनका लागि दिइएको हो, र कहाँ कहाँ वोकेर हिड्न पाउने हो भन्ने खुल्न सकेको छैन। यसरी हतियारको आधिकारिक्ता पुष्टि नहुँदै अभियुक्तलाई हिरासत मुक्त गरेर प्रहरीले बदनामी कमाएको छ।
अर्कोतर्फ, नेतृत्वको योजना अनुसार इन्स्पेक्टर मिश्रले काम नगरी दिँदा बँदेललाई वेवारिसे देखाउने योजना पनि भताभुंग हुने अवस्थामा छ। अभियुक्तलाई उन्मुक्ति दिने गरी प्रतिवेदन तयार पार्न दिएको आदेश मिश्रले मानेनन्। त्यसपछि इन्स्पेक्टर मिश्रलाई यो घटना प्रकरणबाटै वेदखल गरी इलाका प्रहरी कार्यालय भारदहका सई विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक कृष्ण राजवंशी र प्रहरी हबलदार युगेश्वर खत्वेले बँदेल वरामद गरेको रेकर्ड वनाईएको छ।
उनीहरु तीन जनाले आफूहरूको नेतृत्वमा खटिगएको प्रहरी टोलीले को१त ६९ नम्बरको ट्याक्टरमा लोड अवस्थामा बँदेल फेला परेको प्रतिवेदन इप्रका कन्चनपुरमा वुझाएका छन्। त्यो प्रतिवेदनमा पूर्वडीआईजी शाहसहित १० जना पक्राउ परेको विषय उल्लेख नै गरिएको छैन। अझ आश्चर्य त के देखिएको छ भने प्रहरी भित्रको प्रतिवेदन विपरित इप्रका कन्चनपुरका डीएसपी महेन्द्र नेपालले ‘आफनो नेतृत्वमा खटिएको टोलीले बँदेल बरामद गरेको’ भन्दै वन कार्यालयलाई पत्र पठाएका छन्।
वेवारिसे अवस्थामा बँदेल फेला परेको भन्दै उनले पठाएको पत्र पनि सार्वजनिक भईसकेको छ। तर, डीएसपी नेपाल स्वयम भने आफु त्यहाँ नगएको स्विकार्छन। वन कार्यालयलाई लेखिएको पत्रमा कसरी त्यस्तो ब्यहोर उल्लेख हुन गयो, आफुलाई थाहा नभएको उनको भनाई छ।
बँदेललाई बेवारिसे भनेर सव डिभिजन वन कार्यालयमा बुझाएपछि त्यसको पोस्टमार्टमसमेत नगरी हतार–हतारमा गाडिएको खुलेको छ। नियमानुसार मृत बँदेलको पोस्टमार्टम गरिनु पर्ने वन कार्यालयका कर्मचारीहरु नै वताउँछन्। सव डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर सन्तोष यादव भन्छन्– ‘नियमानुसार पोस्टमार्टम गर्नु पर्ने हो, तर त्यो वातावरण बनेन।’
यो सवै प्रकरणमा पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले सप्तरीमा वर्दिधारीको गुण्डाराज चलिरहेको प्रतिक्रिया दिएका छन्।