सिंचाइको भवनभित्र नक्कली नोटको कारखाना, २ भारतीयसहित ८ जनाको गिरोह पक्राउ
जनकपुर— सर्लाहीको मधुवनीबाट २ जना भारतीयसहित नक्कली नोट बनाउने ८ जनाको गिरोहलाई वन्दोवस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको छ।
नक्कली नोट बनाउने र कारोबार गर्ने गिरोहमा संलग्न काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्दन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी, ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्री, भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार मधुवनी गाउँको दशगजा नजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ।
त्यस क्षेत्रमा यसअघि पनि नक्कली नोटका कारोबारी पक्राउ परिसकेको डीएसपी श्रेष्ठले बताए।

