२२ वर्षपछि खुल्यो भारतको सत्ता हस्तान्तरणको भित्री कथा! दबाबमा थिइन् सोनिया, तर प्रधानमन्त्री बने मनमोहन सिंह!
नयाँदिल्ली– भारतको राजनीतिमा सन् २००४ को एउटा यस्तो घटना थियो, जसले देशको नेतृत्व मात्र बदलेन, भारतीय राष्ट्रिय कांग्रेसको सत्ता सञ्चालनको शैली र नेहरू–गान्धी परिवारको राजनीतिक भूमिकाबारे पनि लामो बहस जन्मायो। लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएपछि प्रधानमन्त्री बन्ने अपेक्षा गरिएकी सोनिया गान्धीले अन्ततः पद अस्वीकार गर्दै डा. मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय गरिन्।
तर त्यो निर्णय सहज थिएन। गठबन्धनका नेताहरूको दबाबमा उनी क्षणभर प्रधानमन्त्री बन्न तयार भएको संकेतसमेत दिएकी थिइन्। छोरा राहुल गान्धीको आक्रोश र छोरी प्रियंका गान्धीको आग्रहपछि भने उनले आफ्नो पुरानै निर्णयमा फर्किएको खुलासा गरेकी छिन्।
सोनिया गान्धीले आफ्नो नयाँ आत्मकथा ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ मा सन् २००४ को उक्त घटनाक्रमलाई व्यक्तिगत अनुभूतिसहित वर्णन गरेकी छिन्। नोभेम्बर १० मा सार्वजनिक भएको पुस्तकमा उनले प्रधानमन्त्री बन्ने विषयमा चुनावअघि नै छोराछोरीसँग छलफल गरेको, गठबन्धनका नेताहरूले निवासमै पुगेर दबाब दिएको, आफूले अनिच्छापूर्वक ‘ठीक छ’ भनेको र पछि निर्णय परिवर्तन गरेको प्रसंग उल्लेख गरेकी छिन्।
उनका अनुसार सन् २००४ को आमनिर्वाचन हुनुभन्दा केही महिनाअघि राहुल र प्रियंकाले पार्टीले चुनाव जितेमा उनी प्रधानमन्त्री बन्ने हो कि होइन भनेर सोधेका थिए। सोनियाले तत्कालै आफू प्रधानमन्त्री नबन्ने स्पष्ट जवाफ दिएकी थिइन्। उनले पुस्तकमा लेखेकी छिन्, ‘बिल्कुलै होइन।’ छोराछोरीले फेरि निर्णयबारे निश्चित हुन आग्रह गर्दा पनि उनले आफू पूर्ण रूपमा स्पष्ट रहेको बताएकी थिइन्। राहुल र प्रियंका दुवै आमालाई प्रधानमन्त्री बनेको देख्न चाहँदैनथे।
यसको मुख्य कारण परिवारले भोगेको राजनीतिक हिंसाको इतिहास थियो। सोनियाकी सासू तथा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा हत्या भएको थियो। त्यसको सात वर्षपछि सन् १९९१ मा उनका पति तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको पनि हत्या भयो। यी दुई घटनाले परिवारमा गहिरो मानसिक पीडा र सुरक्षासम्बन्धी चिन्ता छाडेको थियो।
सोनियाका अनुसार राहुल र प्रियंकाका लागि प्रधानमन्त्री पद केवल राजनीतिक जिम्मेवारी थिएन, त्यो आमाको जीवनमाथि थप सुरक्षा जोखिम निम्त्याउन सक्ने पद पनि थियो। हजुरआमा र बुबाको हत्याको त्रासदी भोगिसकेका उनीहरू आमालाई त्यही जोखिममा परेको हेर्न चाहँदैनथे।
गठबन्धनका नेताहरूको दबाबमा ‘ठीक छ’ भनिन्
सन् २००४ को निर्वाचनमा अटल बिहारी वाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) र उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) पराजित भयो। कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकार गठन गर्ने अवस्थामा पुग्यो। कांग्रेस संसदीय दल र गठबन्धनका नेताहरूले सोनियालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न चाहेका थिए।
सोनिया त्यतिबेला कांग्रेसकी अध्यक्ष थिइन्। चुनावी अभियानमा उनको नेतृत्व निर्णायक बनेको थियो। त्यसैले गठबन्धनका नेताहरूले सरकारको नेतृत्व पनि उनैले गर्नुपर्ने दबाब बढाए। सोनियाका अनुसार गठबन्धनका नेताहरूलाई उनको निर्णयबारे जानकारी गराइए पनि उनीहरू त्यसलाई स्वीकार गर्न तयार थिएनन्। अन्ततः उनीहरूलाई मनाउन सोनियाको निवास १० जनपथमा बैठक राखियो। बैठक राजीव गान्धीको सम्मेलन कक्षमा भएको थियो।
बैठकमा नेताहरूले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरे। सोनियाले आफू पद स्वीकार गर्न नचाहेको बताइन्। तर नेताहरूले उनको कुरा सुन्न तयार नभएको उनले उल्लेख गरेकी छिन्। उनका अनुसार केही नेताले आफूहरूले उनको अस्वीकार स्वीकार नगर्ने बताए भने अरूले यस्तो निर्णय लिने अधिकार उनलाई नभएको जस्तो अभिव्यक्ति दिए। उनीहरू उठेर सोनियाको नजिक पुगेपछि आफू घेरिएको र दबाबमा परेको महसुस गरेको उनले पुस्तकमा लेखेकी छिन्।
‘उनीहरूले मेरो कुरा मानिरहेका थिएनन्। ममाथि हाबी भएको महसुस भयो। त्यसपछि मैले बिस्तारै भनेँ– ठीक छ,’ उनले स्मरण गरेकी छिन्। सोनियाले आफ्नो कुरा पूरा गर्न नपाउँदै नेताहरूले आफू प्रधानमन्त्री बन्न सहमत भएको अर्थ लगाए। उनीहरूले ‘उहाँ मान्नुभयो’ भन्दै एकअर्कालाई बधाई दिन थाले। तर सोनियाका लागि त्यो अन्तिम निर्णय थिएन। उनी दबाबमा परेर बोलेको उक्त शब्दले परिवारभित्र तत्कालै अर्को तनाव सिर्जना गर्यो।
‘तपाईंले हुन्छ भन्नुभयो ?’ भन्दै राहुल रिसाए
बैठकमा भएको घटनाबारे थाहा पाएपछि राहुल गान्धी निकै आक्रोशित भएका थिए। सोनियाका अनुसार राहुलले आमालाई भेटेर सीधै सोधे, ‘तपाईंले हुन्छ भन्नुभयो ?’ सोनियाले आफू प्रधानमन्त्री बन्न नचाहेको र गठबन्धनका नेताहरूले दबाब दिएको जवाफ दिइन्। उनले राहुललाई नेताहरूले आफ्नो कुरा नसुनेको पनि बताइन्।
तर राहुलले त्यसलाई सहज रूपमा लिएनन्। उनले आमामाथि दबाब दिइएको हो भने त्यसको असर परिवारमा पनि पर्ने भन्दै प्रश्न गरे। सोनियाले पुस्तकमा राहुलको प्रतिक्रिया उद्धृत गर्दै लेखेकी छिन्, ‘तपाईंमाथि दबाब दिइँदै छ भने हाम्रो के ?’ राहुल रिसाएको अनुहारसहित त्यहाँबाट बाहिरिएका थिए। प्रियंकाले पनि आमालाई पुरानो निर्णयमा अडिग रहन आग्रह गरिन्। उनले सोनियालाई अरूको दबाबमा नपर्न र आफूले पहिलेदेखि लिएको निर्णयअनुसार अघि बढ्न भनेकी थिइन्।
प्रियंकाले आमालाई भनेकी थिइन्, ‘आमा, तपाईं यस विषयमा सधैँ स्पष्ट हुनुहुन्थ्यो। जबर्जस्ती नगर्नुहोस्। तपाईंले जे निर्णय गर्नुभएको छ, त्यही गर्नुहोस्।’ प्रियंका पनि भावुक अवस्थामा थिइन्। सोनियाका अनुसार उनका आँखा रातो भएका थिए। आमालाई प्रधानमन्त्री पद स्वीकार गर्न नदिन दुवै सन्तानले गरेको आग्रहले उनलाई थप सोच्न बाध्य बनायो।
रातभरको द्वन्द्वपछि फेरि आफ्नै निर्णयमा फर्किइन्
गठबन्धनका नेताहरूको दबाब, पार्टीका कार्यकर्ताको अपेक्षा, चुनावमा मत दिएका जनताको विश्वास र परिवारको सुरक्षाबीच सोनिया गान्धी निकै द्विविधामा परेकी थिइन्। उनी प्रधानमन्त्री बन्न चाहँदैनथिन्, तर कांग्रेसलाई जिताएर ल्याएका कार्यकर्ता र जनताप्रतिको जिम्मेवारीबाट पनि पछि हट्न कठिन महसुस गरिरहेकी थिइन्।
उनले पुस्तकमा आफ्नो मनस्थिति वर्णन गर्दै भावनाहरू क्षणक्षणमा बदलिएको लेखेकी छिन्। कहिले आफ्नो निर्णयमा स्पष्ट हुने र कहिले पार्टी तथा जनताप्रतिको दायित्व सम्झेर अन्योलमा पर्ने गरेको उनको भनाइ छ। त्यस रात उनी आफ्नो कोठामा फर्किइन्। त्यहाँ उनले राजीव गान्धीसँग बिताएका दिन, परिवारले भोगेका त्रासदी, आफ्नो राजनीतिक यात्रा र भारतको नेतृत्वबारे लामो समय विचार गरिन्।
एकातिर भारतको नेतृत्व गर्नुपर्ने जिम्मेवारीको आवाज थियो भने अर्कोतिर आफूले पहिल्यै अस्वीकार गरेको पद स्वीकार गर्न नहुने अडान। इटालीमा जन्मिएकी आफूलाई भारतको प्रधानमन्त्री बनाउँदा विदेशी मूलको विषयलाई लिएर राजनीतिक विवाद थप चर्किन सक्ने सम्भावनाबारे पनि उनले विचार गरेकी थिइन्।
उनका अनुसार अन्ततः मनको द्विविधा हट्यो। उनले आफैँलाई सम्बोधन गर्दै भनेको कुरा पुस्तकमा उल्लेख गरेकी छन्, ‘सोनिया, आफूप्रति इमानदार बन। तिमीलाई सधैँदेखि यसको जवाफ थाहा थियो। त्यसैले यो विषय छाडिदेऊ।’ केही घण्टापछि उनी राहुलको कोठामा पुगिन् र आफू आफ्नो पुरानै निर्णयमा अडिग रहने बताइन्। राहुलले आमालाई अँगालो हाल्दै त्यो सही निर्णय भएको प्रतिक्रिया दिएका थिए।
मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय
सोनियाले प्रधानमन्त्री पद अस्वीकार गरेपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्यो। कांग्रेसका वरिष्ठ नेताहरूमध्ये धेरैको नाम चर्चामा थियो। तर सोनियाले डा. मनमोहन सिंहलाई उपयुक्त ठानिन्।
उनको विचारमा मनमोहन सिंहसँग सरकार सञ्चालनको अनुभव, आर्थिक नीतिको गहिरो ज्ञान र इमानदार छवि थियो। सन् १९९० को दशकमा तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावको सरकारमा अर्थमन्त्रीका रूपमा उनले आर्थिक सुधारको नेतृत्व गरेका थिए।
सोनियाले उनलाई कुनै गुटको प्रतिनिधि नभई सबैले विश्वास गर्न सक्ने नेता मानेकी थिइन्। वामपन्थी दलहरूको समर्थनमा सरकार गठन हुन लागेको अवस्थामा मनमोहन सिंहको आर्थिक अनुभव र विश्वसनीयताले गठबन्धनलाई आश्वस्त पार्ने उनको बुझाइ थियो।
उनले मनमोहन सिंहलाई ‘निष्कलंक इमानदारी’ भएको व्यक्ति भन्दै उनको नेतृत्वमा देश सुरक्षित हातमा रहने विश्वास व्यक्त गरेकी छिन्। सोनियाले वरिष्ठ नेताहरूसँग छलफल गरेपछि मनमोहन सिंहको नाम प्रस्ताव गरिन्। त्यसपछि उनलाई प्रधानमन्त्री बन्न आग्रह गरिएको थियो। सुरुमा मनमोहन सिंह पनि अनिच्छुक देखिए पनि अन्ततः उनले जिम्मेवारी स्वीकार गरे।
सन् २००४ मे २२ मा मनमोहन सिंहले भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिए। यसरी सोनियाले पार्टी र गठबन्धनको नेतृत्व कायम राख्दै सरकारको नेतृत्व भने मनमोहन सिंहलाई सुम्पिइन्। मनमोहन सिंह सन् २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री रहे।
सरकार र पार्टीको अधिकार छुट्टाछुट्टै रहेको दाबी
सोनियाले आफ्नो पुस्तकमा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि सरकार र पार्टी सञ्चालनको जिम्मेवारी स्पष्ट रूपमा छुट्ट्याइएको दाबी पनि गरेकी छिन्। उनका अनुसार मनमोहन सिंहले सरकार सञ्चालन गर्थे भने आफूले कांग्रेस पार्टी र गठबन्धनको नेतृत्व गर्थिन्।
यूपीए सरकारको समयमा उनी गठबन्धनकी अध्यक्ष थिइन्। सामाजिक तथा आर्थिक विकासका नीति तथा कार्यक्रमबारे सुझाव दिन गठन गरिएको राष्ट्रिय सल्लाहकार परिषद्को नेतृत्वसमेत उनले गरेकी थिइन्। त्यसैले विपक्षी दलहरूले सरकारको वास्तविक शक्ति १० जनपथमा रहेको आरोप लगाउँदै आएका थिए।
तर सोनियाले आफूले प्रधानमन्त्री कार्यालयबाट सरकारी फाइल मगाउने वा सरकारको दैनिक प्रशासनिक काममा हस्तक्षेप गर्ने नगरेको दाबी गरेकी छिन्। प्रधानमन्त्री मनमोहन सिंहको अधिकार र जिम्मेवारीलाई आफूले सम्मान गरेको उनको भनाइ छ।
उनका अनुसार सरकारी फाइल माग्ने गरेको आरोप गलत नियतले लगाइएको थियो। आफूले सरकार गठनका क्रममा पार्टीका पुराना नेताकार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सुझाव भने दिएको उनले स्वीकार गरेकी छिन्।
प्रणव मुखर्जीको प्रधानमन्त्री बन्ने चाहनाबारे पनि खुलासा
सोनियाको आत्मकथामा सन् २०१० मा पूर्वराष्ट्रपति तथा कांग्रेसका वरिष्ठ नेता प्रणव मुखर्जीसँग भएको कुराकानी पनि उल्लेख छ। त्यसबेला मुखर्जीले सरकारको नेतृत्व परिवर्तन गर्ने समय आएको हुन सक्ने संकेत दिएको सोनियाको दाबी छ।
सोनियाका अनुसार मुखर्जीले एकपटक कुराकानीका क्रममा ‘माथिल्लो नेतृत्व परिवर्तन गर्ने समय आएको’ आशय व्यक्त गरेका थिए। उनले त्यसलाई मुखर्जीको लामो समयदेखि प्रधानमन्त्री बन्ने चाहनाको संकेतका रूपमा बुझेकी थिइन्। त्यतिबेला मुखर्जी सरकारका वरिष्ठ मन्त्री थिए। तर सोनियाले उनको संकेतलाई अघि बढाउनुको सट्टा विषय परिवर्तन गरेको उल्लेख गरेकी छिन्।
यस प्रसंगले यूपीए सरकारको समयमा कांग्रेसभित्रको शक्ति सन्तुलन, वरिष्ठ नेताहरूको आकांक्षा र सरकार तथा पार्टीबीचको सम्बन्धबारे नयाँ बहस जन्माएको छ। सोनियाको पुस्तकमा समेटिएको सन् २००४ को घटनाक्रमले एउटा महत्वपूर्ण राजनीतिक निर्णयको व्यक्तिगत पाटो उजागर गरेको छ। प्रधानमन्त्री पदको सम्भावना हुँदाहुँदै उनले किन पछि हटिन् भन्ने प्रश्नको जवाफमा उनले परिवारको सुरक्षा, आफ्नै अडान र राजनीतिक परिस्थितिलाई जोड दिएकी छिन्। तर उनको निर्णय केवल पारिवारिक आग्रहका कारण आएको थिएन, पार्टीका कार्यकर्ता र जनताप्रतिको जिम्मेवारी तथा भारतको नेतृत्वबारे आफ्नो बुझाइबीचको द्वन्द्व पनि त्यसमा जोडिएको थियो।
सोनियाले अन्ततः प्रधानमन्त्री पद अस्वीकार गरिन् र मनमोहन सिंहलाई नेतृत्वमा अघि सारिन्। त्यसबेलाको उनको निर्णयलाई लिएर विपक्षीले ‘रिमोट कन्ट्रोल’ सरकारको आरोप लगाउँदै आएको भए पनि उनले आत्मकथामार्फत सरकार र पार्टीको अधिकार छुट्टाछुट्टै रहेको आफ्नो पक्ष प्रस्तुत गरेकी छिन्। यसरी २२ वर्षअघि भारतको राजनीतिमा निर्णायक बनेको घटनालाई उनले आफ्नो दृष्टिकोणबाट नयाँ पुस्तासामु राखेकी छिन्।

