गाँजा बोकेको आशंकामा कोशी प्रदेशकी राज्यमन्त्रीको गाडीमाथि उदयपुरमा आक्रमण, ६ जना पक्राउ

विराटनगर– उदयपुरको बेलका नगरपालिका–८, सिरवानीमा कोसी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा आक्रमण गरेर लुटपाटको प्रयास भएको छ।
आक्रमण र लुटपाटको प्रयास गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। घटनामा संलग्न भएको अरोपमा बुधबार विशाल राई, थानवीर राई, आकाश राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले लुटपाटकै उद्देश्यले गाडीमा आक्रमण भएको देखिएको वताए। पक्राउ परेको समुह पहिला पनि लुटपाटमा संलग्न रहेको खुलेकाले घटनाबारे थप अनुसन्धान भईरहेको उनको भनाई छ। गाडी रोकेर लुटपाट गर्न खोज्दा चालकले भगाएपछि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए। पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि त्यहाँबाट भागेको जनाईएको छ। ‘त्यो बाटो गाँजा ओसारपसार हुँदो रहेछ, गाँजा बोकेको गाडीको आशंकामा रोकेर लुटपाट गर्न खोजेका रहेछन्,’ प्रहरी स्रोत भन्छ–‘पहिलेदेखि नै समूह बनाएर बाटो ढुकेर बस्ने गरेको देखिएको छ।’
कोशीको पश्चिमी तटवन्धबाट ओभफ्लो भई वाढी पसेको बेलका नगरपालिका क्षेत्रको स्थलगत अनुगमन गरेर विराटनगर फर्किने क्रममा मंगलबार राति करिव १० बजे राज्यमन्त्री राईमाथि आक्रमण भएको थियो।