धौलागिरी हिमाल आरोहणका क्रममा ५ जना रुसी नागरिकको मृत्यु, शव ल्याउन सकिएन

काठमाडौँ– धौलागिरि हिमाल पर्वतारोहणका लागि गएका पाँच विदेशी नागरिकको मृत्यु भएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान ५ जना रूसी पर्वतारोहीको शव फेला परेको हो। एलेक्सान्द्रा डुशेको, ओलेग कुर्गलोभ, क्रिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र शिपिलेभोज दिमित्रीको शव फेला परेको हो।

पाँचै जनाको शव ७ हजार ६ सय मिटरको उचाइमा फेला परेको जनाईएको छ। २० दिन अगाडि नेपाल आएर पर्वतारोहणका लागि गएका १४ जना रूसी नागरिक मध्ये ८ जना आइतबार रातिदेखि सम्पर्कविहीन भएका थिए।

आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका उनीहरू सम्पर्कविहीन भएपछि हेलिकप्टर मार्फत खोजी गर्ने तयारी भएको थियो। तर, मौसमका कारण उडान हुन सकेको थिएन। मंगलबार बिहानै हेलि एभरेष्टको हेलिकप्टर मार्फत खोजतलास गर्दा दुई जना बेस क्याम्प र एक जना क्याम्प वानमा सकुशल भेटिएका थिए।

त्यसपछि अन्य ब्यक्तिको खोजतलासमा निस्किएको हेलीले ७ हजार ६ सय मिटर उचाइमा पाँचै जनाको शव फेला पारेको हो। उनीहरूको शवलाई काठमाडौं ल्याउन र रूस पु¥याउनेबारे छलफल भईरहेको गुरूङले बताए।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार पाँचै जनाको शव त्यहीँ छ। हेलिकप्टरबाट शव फेला पारेपनि फिर्ता भने ल्याउन नसकिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट