अनैतिक सम्वन्धको चक्करमा भारतीय नागरिकसँग मिलेर पतिको हत्या, यसरी पक्राउ परिन मनिषा

वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका–३, छपकैयाका वीरेन्द्र साह सोनार (२६) को हत्या आरोपमा प्रहरीले उनकै श्रीमती मनिषा देवी र भारतको रक्सौलका विजय गुप्तालाई पक्राउ गरेको छ।
गुप्ता बुधबार विहान वीरगन्जको नाका इनर्वाबाट पक्राउ परेका हुन भने मनिषा अनुशन्धानको सुरुवाती चरणमै पक्राउ परेकी थिईन। स्रोतका अनुसार नेपाली नागरिक्तासमेत भएका गुप्ता सोनारकै घरमा भाडामा वस्ने गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुशन्धानमा गुप्ता र मनिषाको विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको देखिएको छ। २७ असोजदेखि वीरगन्जबाट बेपत्ता भएका सोनार त्यसको ४ दिनपछि गत १ कात्तिकमा बाराको प्रसौनी गाउँपालिका–१ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक मृत अवस्थामा फेला परेका थिए।
तत्कालिन अवस्थामा आफनै घरमा कोठा भाडामा लिएर बस्ने एक भारतीय नागरिकसित उनी घरबाट निस्किएको खुलेको थियो। ती ब्यक्ति विजय गुप्ता नै भएको अनुमान छ। घर फर्केर नआएपछि खोजतलास गर्दा टाउको पछाडि चोट लागेर मृत अवस्थामा फेला परेका सोनारको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
पोस्टमार्टम रिपोर्टमा पनि सोनारको हत्या भएको आधार भेटिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको बारा प्रहरीका डीएसपी प्रकाश सापकोटाले वताए। प्रहरीले अनुसन्धानको सुरुवातमै मृतककी श्रीमती मनिषालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनकै वयानका आधारमा गुप्ता पक्राउ परेका हुन।