लेबनानमा इजरायलको आक्रमणः ७ बालबालिकासहित २३ जनाको मृत्यु

काठमाडौँ– इजरायलले लेबनानको राजधानी बेरुतको उत्तरी क्षेत्रमा गरेको आक्रमणमा ७ बालबालिकासहित २३ जनाको मृत्यु भएको छ। बायब्लोस नजिकको अलमत भन्ने स्थानमा आक्रमण भएको हो।
इजरायलको रक्षा बलले हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ। सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ। त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा २३ जनाको मृत्यु भएका जनाएको छ।
इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ। शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो।
इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ। आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो। गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो।
हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो। बन्धक बनाएका केहीलाई रिहा गरे पनि विपिनको अवस्था अज्ञात छ। हमासले आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो। इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।