महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सप्तरी कारागारका कर्मचारी पुर्पक्षका लागि थुनामा, सप्तरी कारागारमै चलान
![महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सप्तरी कारागारका कर्मचारी पुर्पक्षका लागि थुनामा, सप्तरी कारागारमै चलान](https://www.sheershakhabar.com/wp-content/uploads/2024/12/saptari-karagar.jpg)
राजविराज– महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सप्तरी जिल्ला कारागारका एक जना कर्मचारीलाई थुनामा राख्न अदालतले आदेश दिएको छ।
३० वर्षीया महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका कारागारका कर्मचारी राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन यादव ( चन्द्रनारायण) लाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। यादवमाथि महिला कैदीलाई कारागारको प्रशासनिक भवनमा लागेर बलात्कार गरेको मुद्दा चलिरहेको छ।
उनले प्रशासनिक भवनको बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न करिव साढे ४ बजे बलात्कार गरेको जाहेरीमा उल्लेख छ। आत्महत्या दुरुत्साहनको कसुरमा पीडित महिला १६ साउन ०७६ देखि सप्तरी कारागारमा कैद सजाय भुक्तान गर्दै आएकी थिइन्। उनले घट्ना हुनुभन्दा एक वर्षअघि मात्रै नाइकेको जिम्मेवारी पाएकी थिइन्। जसले गर्दा उनलाई कारागारको प्रशासनिक कार्यालयसम्म आउजाउ र कर्मचारीसँग कुराकानी गर्न छुट थियो।
सोही क्रममा उनी ५ माघ ०८० का दिन कारागारस्थित प्रशासनिक भवन पुगेको अवस्थामा कारागारमा कार्यालय सहयोगीका रूपमा कार्यरत चन्दनले विशेष काम छ भन्दै परिसरभित्रको बिजुलीघरमा लगेर जबर्जस्ती बलात्कार गरेको जाहेरीमा उल्लेख छ। जाहेरीअनुसार यादवले महिलाकै सल थुतेर मुख बन्द गरी सिसी देखाएर ‘हल्ला गरे अनुहारमा एसिड खन्याइदिन्छु’ भन्दै धम्क्याएर बलात्कार गरेका थिए।
त्यसपछि बलात्कारको पोल खुल्ने डरले अख्तियारको दुरुपयो गर्दै उनले पीडित महिलालाई पटक–पटक कारागार सरुवा गरेको खुलेको छ। उनले महिलालाई सुरुमा सिरहा कारागार पुर्याएका थिए। त्यहाँ पनि पुगेर घट्नाको वारेमा कसैलाई नभन्न दबाब दिए। त्यसपछि फेरी सरुवा गराएर सप्तरी नै ल्याए। त्यसपछि उदयपुर पठाए। उदयपुरमा समेत धम्की दिन पुगेपछि पीडित महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमै उजुरी दिएकी थिईन।
घट्ना सप्तरीमा भएको भन्दै उदयपुर प्रहरीले अनुशन्धानका लागि उजुरी सप्तरी प्रहरीमा पठाएको थियो। सप्तरी प्रहरीले पीडितको जाहेरी दर्ता गरी अनुशन्धानपश्चात मुद्दा दर्ता गराएको थियो। सोही मुद्दा सुनुवाईका क्रममा यादव कारागार चलान भएका हुन।
पटकपटक विवादमा पर्दै आएका आरोपित यादव १७ वर्षदेखि कारागार कार्यालय सप्तरीमा करार सेवामा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।
यो पनि,