सप्तरी कारागारमा कार्यालय सहयोगीले नै गरे महिला कैदीमाथि बलात्कार, ८ महिनापछि खुल्यो पोल

राजविराज– सप्तरी जिल्ला कारागारका कार्यालय सहयोगीले ८ महिनाअघि महिला कैदीलाई बलात्कार गरेको घट्ना अहिले सार्वजनिक भएको छ। पीडित महिलाले २१ भदौमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि घट्ना सार्वजनिक भएको हो।
१६ साउन ०७६ देखि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा जन्मकैद भुक्तान गरिरहेकी महिलालाई कारागारकै कार्यालय सहयोगी सप्तरीको राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन (चन्द्रनारायण यादव) ले बलात्कार गरेका हुन। चन्दनले ती महिलालाई कारागारको प्रशासनिक भवनभित्रै बलात्कार गरेको खुलेको छ।
जाहेरीमा उल्लेख भएअनुसार पीडित महिलाले घट्नाको एक वर्षअघि नाइकेको जिम्मेवारी पाएकी थिइन। कारागारको प्रशासनिक भवनसम्म आउजाउ गर्न उनलाई छुट थियो। घट्ना भएको दिन उनी कारागारस्थित प्रशासनिक भवन पुगेकी थिइन। त्यसैबेला चन्दनले ‘जरुरी काम छ’ भन्दै सोही भवनको बिजुलीघरमा लगेर बलात्कार गरेको उनले जनाएकी छिन्।
कोठाभित्र प्रवेश गरेपछि चन्दनले ढोकाको चुकुल लगाई सल थुतेर हात बाँधेको र मुख बन्द गरी बलात्कार गरेको जाहेरीमा उल्लेख छ। प्रतिवाद गर्दा सिसी देखाउँदै ‘हल्ला गरे अनुहारमा एसिड खन्याइदिन्छु’ भनेपछि डर र त्रासका कारण आफु प्रतिक्रिया विहिन भएको उनको भनाई छ।
बलात्कार भएपछि उनले अर्की महिला कैदीबन्दीलाई घट्ना बारे जानकारी गराईन। एकदुई जना गर्दै फेरी यो कुरा चन्दनकहाँ पुगेपछि पोल खुल्ने डरले महिलालाई पटक–पटक कारागार सरुवा गरेको पनि खुलेको छ। कारागार प्रशासनसँग मिलेर उनले सवैभन्दा पहिला महिलालाई ९ फागुन ०८० मा सिराहास्थित महिला कारागार सरुवा गराएका थिए। त्यहाँ पुगेर पनि उनले घटना सार्वजनिक नगर्न भन्दै पीडितलाई मार्ने धम्की दिए।
यति गर्दा पनि मनमा सन्तोष नभएपछि उनले गत १४ असारमा महिलालाई फेरी सप्तरी कारागारमै सरुवा गराए। त्यसपछि गत ८ साउनमा पुनः कारागार सरुवा गरी महिलालाई उदयपुर कारागार पुर्याईएको खुलेको छ। चन्दनले त्यहाँ पनि पुगेर महिलालाई धम्क्याउने गरेका थिए। कसै गर्दा पनि सुख नपाएपछि आफु जाहेरी दिने निर्णयमा पुगेको उनको भनाई छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनले गत २१ भदौमा जाहेरी दिएकी थिइन। घटना सप्तरीमा भएको भन्दै उदयपुर प्रहरीले उनको जाहेरी ३० भदौमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाएको छ। सप्तरीका डीएसपी ढुण्डिराज नेउपानेले उदयपुरबाट आएको जाहेरी दर्ता गरेर अनुशन्धान सुरु गरी सकेको जानकारी दिए।
घट्नाको विषयमा अहिले तत्काल बोलिहाल्ने विषय खुलिनसकेको वताएका उनले थप विवरणका लागि केही समय लाग्ने बताए।