उपचार गर्ने बहानामा लुटपाट गर्दै आएका महोत्तरीका नक्कली डाक्टर नुवाकोटबाट पक्राउ
काठमाडौँ– महोत्तरीको जलेश्वर नगरपालिका–२, हरिटोलका एक युवक लुटपाटमा संलग्न भएको आरोपमा नुवाकोटबाट पक्राउ परेका छन्।
ललितपुरको ग्वार्कोमा डेरा लिएका ३० वर्षीय जितेन्द्र मण्डललाई प्रहरीले नुवाकोटको पन्चकन्या गाउँपालिका–४ आरुखर्कबाट बिहीबार पक्राउ गरेको हो। प्रहरीले मण्डललाई पक्राउ गरेर ललितपुुर ल्याएको छ।
उनले आफूलाई डाक्टर बताउने र घरमै उपचारको सेवा दिने भन्दै लुटपाट गरेको आरोप छ। ललितपुर महानगरपालिका–१७ भेल्पाका ज्ञानराज श्रेष्ठको घरमा डेरा गरी बस्ने ५२ वर्षीय ओलप्रसाद तिमल्सिनालाई पनि उनले यही शैलीमा लुटपाट गरेको आरोप छ।
प्रहरीका अनुसार तिमिल्सिनासँग मण्डलले फेसबुकमा साथी बनाएर कुरा गर्न थालेका थिए। कुराकानीकै क्रममा ‘सुगरको बिरामी भए म उपचार गरिदिउँला’ भन्दै उनी तिमल्सिनाको कोठामा पुगेको खुलेको छ।
त्यसपछि सुगरको औषधी भन्दै बेहोस हुने औषधी खान दिएर लुटपाट गरेको दाबी पीडितको छ। तिमल्सिनाको कोठाबाट उनले सुनका विभिन्न गरगहना र नगद ३ लाख रुपैयाँ लुटपाट गरेको आरोप छ।
पीडितले मण्डल विरुद्ध प्रहरीमा निवेदन दिएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीसीसीको टोलीद्वारा पक्राउ गरिएका मण्डलका विषयमा प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान गरिरहेको छ।
