विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एमाले कार्यकर्ता स्काउटबाट पदमुक्त
काठमाडौँ– एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्शिवाद सुवेदी पदमुक्त भएका छन्। प्रमुख स्काउट तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उनलाई आयुक्तबाट पदमुक्त गरेका हुन।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिवसमेत रहेका सुवेदीले कात्तिक पहिलो साता ताइवानमा आयोजित स्काउटको एसिया प्यासाफिक क्षेत्रीय कार्यशालामा एक विदेशी महिलाको गोप्य अंगहरु छोएको आरोप लागेको थियो।
नेपालको प्रतिनिधि भएर सुवेदी गएको उक्त कार्यशालामा अन्य ११ देशका प्रतिनिधि सहभागि थिए। कार्यक्रममा सुवेदीले जानाजान ती महिलाको गोप्य अंग छोएको भन्दै विश्व स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो।
लगत्तै स्काउटको प्रशान्त क्षेत्रीय कार्यालयले सुवेदीबाट सजग रहन निर्देशन दिँदै नेपाल स्काउटको प्रधान कार्यालयलाई छानबिन गर्न पत्र पठाएको थियो। नेपाल स्काउटले उनीसँग सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ दिन नसकेपछि कारवाही गरिएको जनाईएको छ।
सुवेदीले नेपाल स्काउट ऐन, ०५० को दफा १८ को देहाय २ (क) र नियमावलीको नियम २९ बमोजिमको स्काउट आचारसंहित उल्लंघन गरेको खेलकुद मन्त्रालयले जनाएको छ।
एमालेमा यौनजन्य कसुरको आरोप खेप्ने सुवेदी मात्रै होईनन्। यसअघि पनि एमालेका कतिपय नेता/कार्यकर्ताहरुले यौनजन्य गतिविधिमा लागेको आरोप खेप्दै आएका छन्। त्यसरी विवादमा पर्नेहरुमा पूर्वमन्त्री महेश बस्नेत, सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायत छन्।
