तेस्रो वरीयता पाउने भएपछि बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने पक्का, १५ दिनभित्र औपचारिक सहमति
काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने लगभग पक्का भएको छ। उनले बुधबार पछिल्ला छलफलहरू सकारात्मक भएको जानकारी दिँदै ‘माधवजी र म एक जुट हुने भयौं’ भन्दै प्रतिक्रिया दिएका छन्।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि उनले यसरी बताएका हुन। नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ।
वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने जनाईएको छ। समाजवादीमा आउँदा गौतमले तेस्रो वरीयता पाउने गरी मोटामोटी सहमति भएको नेताहरुले बताएका छन्। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरको आलोकनगरमा भएको दुई दलीय छलफलमा गौतम पार्टीमा आउने गरी समझदारी भएको जानकारी दिए।
खतिवडाले भने, ‘उहाँ नेकपा समाजवादीमा आउने पक्का भयो। आन्तरिक समझदारी भएको छ। उहाँलाई समाजवादीमा तेस्रो वरीयता हुने गरी लगभग सहमति भएको छ। अबको १५ दिन हाराहारीमा औपचारिक सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ।’
समाजवादीमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि गौतमले वरिष्ठ नेताको वरीयता पाउने भएका छन्। पहिले गौतमको विषय टुंगिएपछि अन्य नेताहरूलाई पनि व्यवस्थापन गर्दै जाने खतिवडाले जानकारी दिए।
एमालेसँग दुरी बढेपछि गौतम समाजवादीमा प्रवेश गर्न लागेका हुन्।
