पिंगलास्थानमा किशोरी हत्या प्रकरणः रेडबुलमा नसालु पदार्थ सेवन गराएको आशंका, मोवाईल बोकेर प्रेमी फरार

काठमाडौँ– काठमाडौंको पिंगलास्थान (काठमाडौँ महानगरपालिका–९ गौशाला) स्थित बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी किशोरीलाई रेडबुलमा नशालु पदार्थ/विस सेवन गराएर हत्या गरेको आशंका प्रहरीले गरेको छ।

मृतक कागेश्वरी मनोहरा स्थित आलापोट घर भएकी २१ वर्षीया सुस्मिता खड्काको शरीरमा कतै पनि घाउ चोट लागेको छैन। कोठामा रेडबुलको बट्टा बाहेक अन्य कुनै खानेकुराहरू पनि नभेटिएको प्रहरीले जनाएको छ। तर, किशोरीको मुखबाट फिज निस्किए जस्तो देखिएको छ। घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएकाले त्यसैमा नसालु/विषालु पदार्थ सेवन गर्दा मृत्यु भएको आशंका वढेको प्रहरी अधिकारीहरू बताउँछन्।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन एक युवकसँग उक्त होटलमा पुगेकी खड्का भोलिपल्ट बुधबार मृत भेटिएकी हुन्। प्रहरी स्रोतका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनको शव खुट्टामा जुत्ता लगाएकै अवस्थामा फेला परेको छ। घट्नास्थलको प्रकृति हेर्दा उनी कोठाबाट बाहिर निस्कन खोज्दै गर्दा सँगै आएका युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका छ।

मंगलबार कोठामा बस्न आएका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै बिहीबार होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि बुधबार दिउँसोतिर पुगेको प्रहरीले ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार खड्कासँगै होटलमा बसेका युवले उनको मोबाइल समेत लिएर गएको खुलेको छ।

मृतक सुस्मिता जापान जाने तयारीमा रहेको खुलेको छ। उनी कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन्। फरार भएका युवक पनि जापानबाट ३० मंसिरमा नेपाल आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए। उनको जापान फर्किने फ्लाईट आजैका लागि रहेको पनि खुलेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट