सप्तरीका बौवालालसँग ३८ लाख ठगी गरेको आरोप लागेका स्वकीय सचिवलाई लेखा समिति सभापतिले पदबाट हटाए

विराटनगर– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एमबीबीएसको इन्ट्रान्समा नाम निकाल्दिने भन्दै सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ठगी गरेको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाएका छन्।

संघीय संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन्। उच्च अदालत विराटनगरले अनिललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो।

अनिलले सप्तरी अग्नीसाईर कृष्णसवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीको ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुलासा भएको छ। ‘माथिसम्म पहुँच छ’ भन्दै छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिएर अनिलले पटक पटक गरी पैसा लिएको पाईएको छ।

चौधरीका अनुसार पोखरेलले नाम निकालिदिने र होस्टलमा राख्नेसमेत वातावरण मिलाई दिने प्रतिबद्धता जनाएर काम नभए पैसा फिर्ता हुने बताएका थिए। त्यसपछि उनले विभिन्न मितिमा ७ पटक गरी उक्त रकम दिएको तथ्य र प्रमाण भेटिएको छ।

पहिलो पटक रामदेव सिंहमार्फत २० भदौ २०७१ मा १ लाख रुपैयाँ पोखरेलको नबिल बैंकको ३५१००१७५०३९८१ खातामा जम्मा गरिदिएका छन्। त्यसैगरी केदार प्रसाद घिमिरे मार्फत २३ कार्तिक २०७१ मा ५० हजार, १३ फागुन २०७१ मा फेरी ५० हजार, बौआलाल चौधरी मार्फत २२ मंसिर २०७३ मा १० लाख, २२ मंसिर ०७३ मा ८ लाख र सोही मितिमा १७ लाख गरी पोखरेलको खातामा पटक–पटक गरी ३८ लाख ३० हजार रुपैयाँ जम्मा भएको देखिन्छ।

यसरी पैसा दिँदा पनि छोरीको नाम निस्किएन। त्यसपछि चौधरीले पैसा फिर्ता माग्न थाले। पैसा फिर्ता माग्दा पोखरेलले उल्टै उनलाई धाक धम्की दिएर ५० लाख ऋण लिएको कागजमा हस्ताक्षर गराए। ९ साउन ०७९ मा बनाएको उक्त कागजमा ऋण लिएको मिति २५ असार ०७४ उल्लेख छ।

यस विषयमा बौवालाले प्रहरीमा उजुरी दिन खोजे। तर, इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङले उनको उजुरी लिन मानेन। जिल्ला सरकारी वकिलको कार्यालयले समेत जाहेरी दर्ता गर्नका लागि प्रहरीलाई चिठी लेख्न अस्वीकार गरेपछि उनले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै निवेदन दिएका थिए।

उक्त निवेदनमाथि उच्च अदालत विराटनगरका न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशमा ३१ भदौ ०८१ मा सुनुवाई हुँदा पोखरेलमाथि अनुसन्धान गर्न आदेश दिएको हो। उच्च अदालतको उक्त आदेश गत ११ पुसमा प्रमाणीकरण भएको छ।

०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका रंगेली नगरपालिका २ मंगलबारेका ४३ वर्षीय अनिल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन्। ऋषिकेश सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै उनी स्वकीय सचिव थिए।

अर्कोतर्फ सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा पनि सहकारी ठगीमा वदनाम छ। उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न कोइरालाको नाममा जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो। यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ गरेको छैन। श्रीमतीको घटना सेलाउन नपाउँदै सभापति पोखरेलका स्वकीय सचिव अनिलको नाम ठगी मुद्दामा तानिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट