पिंगलास्थानमा युवतीको मृत्यु प्रकरणः ३ वर्षको प्रेम सम्वन्धमा खटपट, अनाहकमा गयो २ ज्यान

काठमाण्डौँ– काठमाण्डौँको गौशालास्थित पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्यामा आशंका गरिएका उनका प्रेमी २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगामा मृत फेला परे।

पिंगलास्थानस्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा मंगलबार थापासँगै गएकी सुस्मिता त्यसको भोलिपल्ट बुधबार मृत फेला परेकी थिइन्। थापाले होटलको कोठामा बाहिरबाट चुकुल लगाई उनको मोबाइलसमेत लिएर गएका थिए। त्यसैले हत्यामा उनको संलग्नताको अनुमान गरिँदै आएको थियो।

प्रहरीले उनको मोबाइल लोकेशन ट्रेस गर्दा उनी ओखलढुंगामा देखिएका थिए। त्यसपछि काठमाडौंबाट बिहीबार नै अनुसन्धान टोली ओखलढुंगा गएको थियो। सुनकोशी गाउँपालिकाको हर्कपुरस्थित उनको पुख्र्यौली घरमा प्रहरी पुगेपनि देवबहादुर त्यहाँ थिएनन्।

काठमाडौँबाट गएको प्रहरी टोलीले शुक्रबार दिउँसोसम्म उनको खोजी गर्यो। तर, उनी फेला नपरेपछि प्रहरीको टोली काठमाडौँ फर्कियो। त्यसपछि सोही दिन उनी फेरी घरमै रहेको सूचना प्रहरीले पायो। जिल्ला प्रहरी कार्यालयको टोली उनको घर पुग्यो। तर, प्रहरी आएको जानकारी पाएका देवबहादुर पहिले नै भाग्न सफल भए।

शनिबार प्रहरी स्थानीय सामुदायिक विद्यालयमा सञ्चालित परीक्षामा खटिएको थियो। त्यसै बेला देवबहादुर फेरी घरमै रहेको सूचना प्रहरीले पायो। परीक्षामा २ जनालाई ड्युटीमा खटाएर प्रहरीको टोली फेपरी हर्कपुर पुग्यो। तर, उनी घरबाट निस्किसकेका थिए।

सुनकोशी गाउँपालिका–३ देवीस्थान, सिस्नेरीस्थित जंगलतिर भागेको खवरपछि प्रहरीले उनको पिछा गर्यो। प्रहरी सिस्नेरीको जंगलमा पुग्दा थापाले घाँटीमा पासो लगाई आत्महत्या गरिसकेका थिए। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काका अनुसार उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार मंगलबार कागेश्वरी मनोहरा–२ की २१ वर्षीया सुस्मिता र देवबहादुर उक्त होटलमा बास बसेका थिए। भोलिपल्ट अंग्रेजी नयाँ वर्षको दिन बुधबार खड्काको शव फेला परेको थियो भने युवक बेपत्ता थिए।

युवकले बाहिरबाट होटलको ढोका लगाएर बेपत्ता भएपछि प्रहरीले हत्याको आशंका गरेर अनुसन्धान गरिरहेको थियो। होटल देवबहादुरकाका नाममा बुक गरिएको थियो भने उनीहरूले ३ हजार रुपैयाँसमेत एड्भान्स दिएका थिए।

होटल प्रशासनले दुवै जना बसेको ३०८ नम्बरको कोठाको ढोका बुधबार अबेरसम्म नखुलेपछि प्रहरीलाई खबर गरेको थियो। प्रहरी पुगेर ढोका खोल्दा खड्का मृत फेला परेकी थिइन्। काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीका अनुसार मृत भेटिएकी खड्काको मुखबाट फिँज आएको थियो। शरीरमा कुनै चोटपटक थिएन। उनले लगाएका कपडा पनि बिग्रेका थिएनन्। जुत्ता समेत लगाएर खाटको कुनापट्टि सुतेको जस्तो देखिन्थ्यो।

दुईवटा रेडबुलका खाली डब्बा कोठामा भेटिएका थिए। प्रहरीका अनुसार उनीहरूबीच फोन सम्पर्क र म्यासेज आदानप्रदान भएको देखिन्छ। तर, खड्काको मोबाइल भने प्रहरीले फेला पार्न सकेको छैन। सँगै होटल गएका देवबहादुर ३० मंसिरमा जापानबाट काठमाडौं आएका हुन्। यसअघि उनले अध्ययन गरेकै ठाउँमा खड्का पनि जापानी भाषासँगै कलेज पढ्दै थिइन्।

उनीहरूबीच ३ वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ। बिवाह नै गर्ने भनेर दुवै परिवारलाई यसबारे जानकारी दिइएको थियो। तर, पछिल्लो समय उनीहरु सम्बन्ध बिग्रेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट