चीनमा भुकम्पमा परी मर्नेको संख्या ९५ पुग्यो, आजको भुकम्प ५ वर्षभित्र गएको सवैभन्दा ठुलो

काठमाडौँ– मंगलबार विहान नेपालसमेत हल्लाउने गरी चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
तिब्बतको क्षेत्रीय विपद् राहत मुख्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ९५ पुगेको र १३० जना घाइते रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो। नेपाली समय अनुसार आज विहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो।
नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ। यो भूकम्प १० किलोमिटर गहिराइमा थियो। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन्।
भूकम्पपछि माउन्ट कोमोलाङ्मा (सगरमाथा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ। डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा आज विहान सवैभन्दा ठुलो भुकम्प गएको हो।
आज मापन गरिएको भूकम्पको केन्द्रविन्दुबाट २ सय किलोमिटर वरपरको क्षेत्रमा ५ वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प भएको रेकर्ड छ।