अग्निरेखा बनाउने वहानामा सामुदायिक वनको रुख काटेको आरोपमा हर्क साम्पाङमाथि छानविन

इटहरी– अनाधिकृत रुपमा सामुदायिक वन क्षेत्रका रुख कटान गरेको आरोपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वन कार्यालयले छानविन सुरु गरेको छ। छानविनका लागि ३ सदस्यीय समिति गठन भएको छ।
मेयर सामपाङले ‘फायर लेन (अग्निरेखा)’ बनाउने भन्दै धरान–२० स्थित बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुख काटेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ। बिष्णुपादुका सामुदायिक बन उपभोक्ता समितिले धरानका प्रमुख साम्पाङले फायर लेन बनाउनका लागि सामुदायिक वनका रुख काटेको जनाएको छ।
वन कार्यालयसँग अनुमति नै नलिई मेसिनको प्रयोग गरेर रुख काटेको पाईएपछि छानविन सरु गरिएको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताए। उनका अनुसार साम्पाङले १९ चैत्रमा मेसिन नै लगेर रुख काटेको खुलेको छ।
साम्पाङ विरुद्ध डिभिजन वन कार्यालय सुनसरीमा उजुरी नै परेको मियाँले वताए।। विना अनुमति रुख काटेको उजुरी परेपछि बिष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार साहको संयोजकत्वमा पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य रहेको छानबिन समितिका सदस्य बनेको छ।
समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदनका आधारमा वन ऐन अनुसार थप कानुनी प्रकृया अघि वढ्ने प्रमुख मियाँको भनाई छ। वन क्षेत्र भित्र इजाजतबिना रुख काट्ने छुट कसैलाई नभएको उनले बताए।