१८ करोड ऋण तिर्न नसकेपछि अमेरिका भागे धुर्मुस सुन्तलीः यस्तो छ ग्रिनकार्डसहितको आरोप र वास्तविक्ता
काठमाडौं— गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका नाममा उठेको जनलहर, त्यसपछिको विवाद, आर्थिक किचलो र आरोप–प्रत्यारोपको सुनामी खेपिरहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका भागेको विषयले अहिले देशमै तहल्का मच्चाएको छ।
रंगशाला निर्माणका लागि देशविदेशबाट उठेको चन्दा/सहयोग दुरुपयोग गरेको र १८ करोड ऋण नतिरी अमेरिका भागेको आरोप लागेपछि उनी अहिले चर्चामा छन्। सर्वप्रथम यो विषय युट्युवर सन्तोष देउजाले फेसबुक मार्फत उजागर गरेका थिए। उनले १० डिसेम्बरमा आफनो फेसवुकमा लेखेका छन्– ‘कसरी सुनाउ? एकजना होनहार कलाकार सधैका लागि पलायन भएको… मागेरै भएपनि देखिने गरि काम गरेका समाजसेवी अमेरिका भासिएको… देशलाई आपत पर्दा अमेरिकाबाट आयो। आफुलाई आपत पर्यो स–परिवार अमेरिका गयो। भाग्यो नभन्नु होला, भाग्यले ठग्यो।’
देउजाले यो स्ट्याटसमा कसैको नाम उल्लेख गरेनन्, तर संकेत धुर्मुशतर्फ नै थियो। त्यसपछि एउटा टेलिभिजनमा ‘रजतपट’ नामको कार्यक्रम सञ्चालन गर्ने प्रकाश सुवेदीले ब्रेकिङ न्युज भन्दै धुर्मुशको विषयमा थप खुलासा गरे। धुर्मुशले अमेरिकाको ग्रिन कार्ड लिएको, ब्यापारमा लगानी गरेको र यता रंगशालाको विवाद आएपछि विरामी भएको नाटक गर्दै उपचार गराएको वहानामा परिवारसहित भागेको आसयमा उनले कार्यक्रम वनाए। उनले अस्पतालको हवाला दिँदै ‘धुर्मुश कहिलेकाहीँ अस्पतालमा पुगेर फोटो खिचाई सार्वजनिक गर्ने गरेको तर स्थायी रुपमा कहिलै उपचार नगराएको’ पनि खुलासा गरे।
त्यसपछि यो विषय सर्वत्र फैलियो। अहिले आएर धुर्मुसले सार्वजनिकरूपमा ती दाबीहरूको खण्डन गरेका छन्। शुक्रबार बिहान उनले फेसबुकमा लामो भावनात्मक टिप्पणी लेख्दै आफूहरू छोरी सुविहानीको उपचारकै कारण अमेरिका आएको स्पष्ट पारेका छन्। रंगशाला निर्माणका क्रममा सरकारको असहयोग, बजेट फ्रिज, प्रक्रियागत अड्चन, राजनीतिक अवरोध र लगातारको बदनामीले आफूहरूलाई वर्षौँदेखि पीडामा बाँधेको उनले खुलेर बताएका छन्।
धुर्मुसका अनुसार भरतपुर महानगरपालिकालाई करिब ६० करोड रुपैयाँ बराबरको संरचना हस्तान्तरण गरिए पनि १८ करोड ४३ लाख रुपैयाँ बराबरको निर्माण सामाग्रीको उधारो अझै बाँकी छ। अख्तियारदेखि सतर्कता केन्द्रसम्मका छानबिनमा आफूले क्लिन चिट पाए पनि निरन्तर ‘ठग’ का रूपमा बदनाम गरिएको गुनासो उनले दोहो¥याएका छन्। राज्यले सम्पत्ति लिन सक्छ तर दायित्व लिन मान्दैन भन्ने वाक्यमार्फत उनले सरकारी उदासिनताप्रति तीव्र असन्तुष्टि जनाए। उनका अनुसार ६९ करोड बोलिएको महायज्ञबाट जम्मा ९ करोड ४१ लाख उठ्यो, बाग्मती प्रदेशले ३० करोड प्रतिवद्धता जनाएर ३ करोड मात्र दियो र भरतपुर महानगरले १६ करोड ७५ लाखको वाचा गरेर ८ करोड ५ लाख मात्रै उपलब्ध गरायो।
महायज्ञका नाफा–नोक्सानीदेखि सरकारी प्रतिवद्धतासम्म सबै केही आफ्नो पक्षमा नहुँदा परियोजना रोकियो र उधारो चुलिँदै गयो। धुर्मुसले छोरी सुविहानीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेको खुलाएका छन्। जन्मिएको १६ दिनमै म्यानेन्जाइटिस भएपछि उनको घुँडाको हड्डीमा इन्फेक्सन भयो र अहिले दाहिने खुट्टा देब्रेभन्दा सात सेन्टिमिटर सानो छ। नेपाल र भारतका अस्पतालले उपचार सम्भव नभएको बताएपछि चिकित्सकले अमेरिकामात्र विकल्प रहेको सिफारिस गरे।
आर्थिक अवस्था कमजोर भएकाले आफूले तीन वर्षअघि ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन दिएको र दुई वर्षपछि भिसा प्राप्त भएको पनि धुर्मुसले पुष्टि गर्दै ‘हामी रहरले होइन, बाध्यताले अमेरिका आएका हौँ’ भन्ने सन्देश दिएका छन्। अमेरिकाको मेडिकेड प्रणालीले कम आम्दानी भएका अभिभावकका बच्चालाई निःशुल्क उपचार सुविधा दिने भएकाले आफूहरूले यही विकल्प रोजेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा आफूहरू १८ करोडको दायित्वबाट उम्किन अमेरिका भागेको आरोप लागेपछि त्यसको प्रतिवाद गरेका छन्। ‘हामी कुनै हालतमा भागेर आएका होइनौँ, छोरीको उपचारपछि नेपाल फर्किन्छौँ।’ हाल उनीहरू अमेरिका नर्थ क्यारोलिनामा आफन्तको घरमा बसेका छन्। नेपाल फर्किएपछि कलाकारितामै फर्कने र रंगशालासम्बन्धी उल्झन समाधानका लागि पुनः पहल गर्ने धुर्मुसले प्रतिबद्धता जनाएका छन्।
यता युट्युवर देउजाले पनि आजै धुर्मुश आफनो पुरानो स्ट्याटसलाई पुष्टि गर्दै फेसवुकमा लेखेका छन्–‘अन्ततः सिताराम कट्टेल धुर्मुसजीले नै आफु अमेरिका भएको, ग्रिनकार्ड सहित गएको पुष्टि गर्नुभयो। प्रिय कलाकारलाई नियतीले देश छाड्ने बनायो। म अत्यन्तै दुखी छु। उहाँसंगका विगतका पलहरु सम्झिएर भावुक भएको छु। तस्वीरः पछिल्लो पटक उहाँसंग मेरो निवासमा… सधै माया र सम्झना।’
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको अभियान सुरु गर्दा देशभर उत्साह र आशा थियो। तर अन्तिम नतिजा आउँदा अपूर्ण रंगशाला, १८ करोडको उधारो, निरन्तर छानबिन, राजनीतिक आरोप–प्रत्यारोप, आर्थिक तनाव, मानसिक क्षति र अन्ततः छोरीको उपचारका कारण बाध्यतावश अमेरिकातिर बसाइले एउटा पीडादायी वास्तविकता उजागर गरेको छ।

