प्रहरीको चेकप्वाईण्टबाट भागेको कार दुर्घटना, कारबाट ४ सय किलो गाँजा बरामद

विराटनगर– धनकुटामा बुधबार विहान प्रहरीको चेकपोष्टबाट चेकजाँचका क्रममा भागेको कार दुर्घटनामा परेको छ। दुर्घट्नाग्रस्त कारमा ४ सय २१ किलो गाँजा बरामद भएको छ।
बुधबार बिहान कोशी राजमार्ग हुँदै धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटले चेक प्वाइन्टमा रोकेको थियो।
साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनामा पर्ने चेक प्वाईण्टबाट उक्त कार भागेको थियो। प्रहरीले पिछा गर्न थालेपछि अनियन्त्रित भएको कार सडक छेउमा भित्तामा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक भने फरार भएका छन्। कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रतिक्रिया