काठमाडौँमा पुलमुनी पिसाव गर्ने विषयमा विवाद हुँदा एक जनाको हत्या

काठमाडौँ– काठमाडौँको परोपकारस्थित पुलमुनी पिसाव गर्ने विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ। हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार हत्या भएका व्यक्ति काभ्रे भुम्लु गाउँपालिका–१० का ४२ वर्षीय विक्रम तामाङ (माइला) हुन।
उनी गत १६ वैशाखको अपरान्ह करिव साढे ११ बजे धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका थिए। काठमाडौँकै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा उनको साढे १२ बजे मृत्यु भएको थियो।
अनुशन्धानका क्रममा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठले उनको हत्या गरेको खुलेको छ। पक्राउ परेका श्रेष्ठले आरोप स्विकारेका छन्। हत्यामा प्रयोग भएको चक्कु पनि प्रहरीले बरामद गरेको छ।
पुलमुनी पिसाब गर्दा गाली गरेका कारण हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन्। ‘पिसाब गर्दा गाली गरिरहन्थ्यो। त्यसदिन भेटेर हान्दिएँ।’ उनले भनेका छन्। प्रहरीका अनुसार मृतकको पेटदेखि छातीसम्म पटकपटक चक्कु प्रहार भएको चोट थियो।
एसपी जिसीका अनुसार उनीहरू सामान्य काम गर्ने व्यक्तिहरू त्यही क्षेत्रमा बस्दै आएका थिए।