कारले मोटरसाईकलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, कार चालक पक्राउ

जनकपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का छेउमा आज विहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ।
हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सहनी बाबुछोरी घरबाट निजगढतर्फ गइरहेका थिए। सोही अवस्थामा दुर्घटनामा परी सख्त घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बलिरामको हाइवे ट्रमा सेन्टर अस्पतालमा र थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएकी उर्मिलादेवीको सोही अस्पतालमा मृत्यु भएको डीएसपी राजकुमार राईले बताए।
ठक्कर दिने कारका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।