पाथीभरा विकास समितिका अध्यक्ष थेबेलाई कुटेपछि मन्त्री हाङगाम फेरि विवादमा

विराटनगर — ताप्लेजुङका तत्कालिन डीएसपी राजन लिम्बु र उनको परिवारलाई खोजी–खोजी सिद्याउने धम्की दिएर विवादित बनेका कोशी प्रदेशका वर्तमान उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरी विवादमा तानिएका छन्।
गृह जिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन। मंगलबार बेलुका फुङलिङ नगरपालिका–४ स्थित एक क्याफे परिसरमा सामान्य भनिएको विवादले उग्र रुप लिएपछि मन्त्री हाङगामले अध्यक्ष थेबेमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनास्थलमा प्रहरी पुगे पनि कुटपिट गर्ने व्यक्ति ‘भिआइपी’ भएको भन्दै प्रहरीले औपचारिक रूपमा नबोल्ने र जाहेरी नआएको भन्दै पन्छिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आगामी निर्वाचनमा अध्यक्ष थेबेले मन्त्री हाङगामसँग प्रतिस्पर्धा गर्ने तयारी रहेको भन्दै मन्त्रीले आक्रोशमा हातपात गरेका थिए। कुटपिटपछि थेबे तत्काल घटनास्थलबाट बाहिरिएका थिए।
घटना भएको भोलिपल्ट दुवै पक्षबीच मिलापत्रको प्रयास भएको थियो। तर,सहमति जुट्न सकेको छैन। अध्यक्ष थेबेले ‘विवाद सामान्य हो, बाहिर ल्याउनु नपर्ने’ बताए पनि घटना भने मिलिसकेको छैन। मन्त्री हाङगामले भने रक्की थेबेलाई आफूले नचिन्ने दाबी गर्दै घटना अस्वीकार गरेका छन्। थेबे नेकपा एकिकृत समाजवादी (नेकपा एस) का नेता समेत हुन्। उनको मन्त्रीसँग पुरानो चिनजान रहेको स्थानीय नेताहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमले घटनाबारे औपचारिक जानकारी आफूलाई नभएको प्रतिक्रिया दिएका छन्।
मन्त्री हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने हाङगाम यसअघि पनि पटक–पटक विवादमा मुछिँदै आएका छन्।
२०७९ सालमा ताप्लेजुङको मिनी महोत्सवमा उनले तत्कालीन प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए। त्यस घटनामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष छानबिन समिति गठन गरी अनुसन्धान समेत गरेको थियो। पछि कांग्रेस नेताहरूको पहलमा विवाद मिलाइएको थियो। अहिले लिम्बू झापाको प्रहरी प्रमुख छन्।
मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि राम्रो सम्बन्ध नरहेको बताईन्छ। बजेट निर्माणका क्रममा मन्त्रालयका कर्मचारीलाई धम्की दिएको विषयले उनीहरूको सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ। स्रोतका अनुसार मुख्यमन्त्रीले कांग्रेस संसदीय दलसँग मन्त्री हाङगामलाई हटाउन आग्रह गरेका थिए, तर कांग्रेसले सुनुवाई गरेको छैन।
मुख्यमन्त्रीको सचिवालयले भने मन्त्री र मुख्यमन्त्रीको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेको छ। मन्त्री हाङगाममाथि अनुगमनका क्रममा मातहत कार्यालयका प्रमुख र कर्मचारीलाई धम्की दिने, नियन्त्रणमा राख्ने र मन्त्रालयका कर्मचारीलाई ‘भौतिक कारबाही’ सम्मको चेतावनी दिने गरेको आरोप लाग्दै आएको छ।