कांग्रेस नेता धनराजकी पूर्वपत्नि अमेरिका पुगेर प्रज्ञा न्यौपानेको कोठामा लुकेर बसेको खुलासा

काठमाडौँ— मितेरी सहकारी ठगी प्रकरणकी मुख्य अभियुक्त ज्योति गुरुङ अमेरिकाको सानफ्रान्सिस्कोमा प्रज्ञा न्यौपानेको कोठामा सेल्टर लिएर बसेको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य खुलेको हो। सीआईबीको आर्थिक अपराध महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार गुरुङ अमेरिका पुगेको पुष्टि भए पनि उनी हाल कुन स्थानमा र कसरी बसेकी छन् भन्नेबारे विस्तृत विवरण भने अझै खुलिसकेको छैन।

यद्यपि, नेपाल प्रेसले अमेरिकास्थित आफनो स्रोत प्रयोग गरेर गुरुङ सानफ्रान्सिस्कोमा रहेकी प्रज्ञा न्यौपानेको साथमा लुकेर बसेको पत्ता लगाएको छ। ज्योति गुरुङको न्यौपानेसँगको निकटताका सम्बन्धमा धेरै कुरा खुलिसकेको छैन।

तर, गुरुङको अमेरिकामा बसोबास, आर्थिक व्यवस्थापन र व्यक्तिगत कारोबारमा न्यौपानेकै सहयोग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रज्ञा मोरङकी स्थायी बासिन्दा हुन। उनको सहयोगमा गुरुङले सुरुका केही दिन एक क्यासिनोमा काम गरिन र पछि त्यहाँबाट हटाइएकी थिइन्। त्यस्तै, न्यौपानेकै सहायतामा गुरुङले अमेरिकामा एसयूभी गाडी किनेकी थिइन्।

नेपालका उच्चपदस्थ व्यक्तिहरूसँग राम्रो सम्बन्ध रहेको भनिने न्यौपाने केही महिनाअघि नेपाल आएकी थिईन। स्रोतका अनुसार उनी गुरुङका केही आर्थिक कारोबार मिलाउन नेपाल फर्किएकी हुन् र लगभग ६ महिना नेपालमा बसेर पुनः अमेरिका गएकी थिइन्।

नेपाल प्रहरीले गुरुङविरुद्ध रेडकर्नर नोटिस जारी गरिसकेको छ। एसएसपी बोगटीका अनुसार गुरुङसम्बन्धी प्राप्त सूचनाहरूको सत्यता प्रमाणित गर्ने प्रक्रिया चलिरहेको छ।

नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङकी पूर्वपत्नी ज्योति मितेरी सहकारी ठगी प्रकरणकी मुख्य प्रतिवादी हुन्। सहकारीबाट ठगी भएको १४ करोड ८१ लाख रुपैयाँमध्ये सात करोड रुपैयाँ क्रिप्टो कारोबारमार्फत कम्बोडियामा पठाएको अनुसन्धानमा खुलेको छ।

धनराज गुरुङले पत्नीविरुद्ध मुद्दा लागेपछि सम्वन्ध विच्छेद गरेका छन्। तर, त्यो कागजी सम्बन्धविच्छेद मात्रै रहेको आरोप लाग्दै आएको छ। उनले २०७७ मा सहकारीबाट ऋण लिँदा ज्योतिको नाम हकवालाका रूपमा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट