आत्महत्या गरेकी पत्नीलाई दुबईमा मरेको देखाएर बीमा रकम ठगी गर्न खोज्ने श्रीमान् र नासु सहित ६ जना पक्राउ

काठमाडौँ– दुई वर्षअघि काभ्रेको धुलिखेलस्थित जंगलमा आत्महत्या गरेकी महिलालाई वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु भएको देखाइ बीमा रकम ठगी गर्ने योजनामा संलग्न ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतकका श्रीमान् कान्छामान थिङ, भूमिव्यवस्था अभिलेख विभागका नायब सुब्बा पशुपति अधिकारीसहित पुराना ठगी प्रकरणमा संलग्न व्यक्तिहरू पनि छन्।
सीआईबीका अनुसार काभ्रेको रोशी गाउँपालिका–१० ठकुरी गाउँ पाथ्लोपोखरी टोल घर भई परिवारसहित ललितपुरको इमाडोल बस्दै आएकी ३३ वर्षीया सोमा थिङ ०७९ असार १६ गते बिहान श्रीमान् कान्छामानसँग सामान्य विवाद भएपछि ‘मर्छु’ भन्दै घरबाट निस्किएकी थिइन्।
त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन भइन्। आफ्ना भाइ र बहिनीलाई पनि ‘मर्छु’ भनी फोन गरेकी उनी २५ असारमा काभ्रेको धुलिखेलस्थित जंगलमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। प्रहरी अनुसन्धान र परिवारको जानकारीका आधारमा उनको मृत्यु आत्महत्या भएको पुष्टि भएको थियो र पोस्टमार्टमपछि परिवारले शवको अन्त्येष्टि गरेका थिए।
तर, दुई वर्षपछि उनका श्रीमान् कान्छामान थिङले मृतक पत्नीको मृत्युलाई वैदेशिक रोजगारीसँग जोड्दै बीमा रकम असुल्ने योजना बनाए। सोमा सन् २०१६ देखि २०२२ सम्म ६ वर्ष यूएईमा काम गरेपछि नेपाल फर्किएकी थिईन।
वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको र कान्छामान त्यसबारे जानकार रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ। यो कुरा कान्छामानले आफ्ना परिचित निरकुमार मल्ललाई सुनाए। मल्लले यो कुरा पुराना ठगीका योजनाकार रामबहादुर तामाङलाई बताए, जो यसअघि पनि यस्तै घटनामा मुछिएका व्यक्ति हुन्।
योजना विस्तार गर्दै तामाङले मनबहादुर नेपाली र रामबहादुर नेपालीलाई समेत समावेश गरे। उनीहरू सबैले नायब सुब्बा पशुपति अधिकारीसँग समन्वय गरे। नासु अधिकारी यसअघि पनि यस्तै ठगी प्रकरणमा पक्राउ परेका थिए र उनीले ठगी गर्न कानुनी र प्राविधिक प्रक्रियामा कसरी चलखेल गर्ने भनेर उपाय दिएको सीआईबीले जनाएको छ।
उनीहरूले वैदेशिक रोजगार बोर्डमा बीमा रकम दाबी गर्नका लागि अध्यागमनको पत्र, श्रम स्वीकृति, मृत्युदर्ता र सिफारिसपत्र लगायतका सम्पूर्ण कागजातहरू नक्कली बनाएका थिए। विशेष गरी सोमाको मृत्यु भइसकेको एक वर्ष नाघिसकेकाले उनीहरूले मृतक पुनः युएई गएको देखाउने उद्देश्यले नक्कली अध्यागमन र श्रम कागजात तयार गरेका थिए।
उनीहरूले २५ असार २०७९ मा मृत्यु भएकी सोमालाई १६ पुस २०८१ मा युएईमा मृत्यु भएको देखाइ मृत्यु दर्ताको नक्कली कागजात वैदेशिक रोजगार बोर्डमा पेश गरे। तर, बोर्डले कागजातमा शंका गरी सोमा थिङको स्थायी ठेगाना रहेको काभ्रेको रोशी गाउँपालिका–१० लाई पत्राचार गर्दै विवरण माग्यो। त्यसपछि वडाबाट प्राप्त वास्तविक विवरणले २०७९ असार २५ गते नै सोमा थिङको मृत्यु भइसकेको प्रमाणित ग¥यो र ठगी प्रयासको पोल खुल्यो।
वैदेशिक रोजगार बोर्डले तुरुन्तै सीआईबीलाई पत्राचार गरी थप अनुसन्धानको माग ग¥यो। सीआईबीले अनुसन्धान अघि बढाउँदै सबै संलग्नहरूलाई पक्राउ गर्यो। यस प्रकरणमा पक्राउ परेका मनबहादुर नेपाली, रामबहादुर नेपाली, रामबहादुर तामाङ र नासु अधिकारी यसअघि पनि यस्तै ठगीमा मुछिएका व्यक्ति हुन्।
उनीहरूलाई २०७९ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। त्यतिबेला पनि उनीहरूले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाइदिने बहानामा ठगी गर्ने गरेको खुलेको थियो।
तर, उनीहरूले त्यसबेला पीडित पक्षसँग ८ करोड रुपैयाँ फिर्ता गरेर मिलापत्र गरेका कारण उनीहरू विरुद्ध मुद्दा अघि बढेको थिएन। अहिले उनीहरू पुनः पुरानै शैलीमा संगठित ठगीमा मुछिएका छन्।
सीआईबीका अनुसार यस पटकको ठगी योजनामा कान्छामान थिङ, नासु पशुपति अधिकारी र अन्य समूहले सुनियोजित रूपमा नक्कली कागजात तयार पारी बीमा रकम असुल्न खोजेका थिए। उनीहरू विरुद्ध लिखतसम्बन्धी कसुर र ठगी मुद्दामा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।