हेटौंडाको तेस्रो सन्तान नीति: जनसंख्या नियन्त्रण अभियानलाई खुला चुनौती !

काठमाडौँ– नेपालमा विगत लामो समयदेखि प्रचारित ‘दुई सन्तान–ईश्वरको बरदान’ भन्ने सन्देशलाई उल्टाउँदै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो। उपमहानगरकी मेयर मीनाकुमारी लामाले मंगलबार सम्पन्न १७ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ९३ औं बुँदामा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न विशेष कोष स्थापना गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
देशमा जनसंख्या नियन्त्रणका सन्देशहरू प्रचलित भइरहेका बेला हेटौंडा उपमहानगरपालिकाले उल्टो धार लिँदै जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्ने नीति ल्याएकोप्रति केहीले प्रश्न उठाउन थालेका छन्।
यसरी जनसंख्या वृद्धि प्रोत्साहन गर्ने नीति नेपालकै अन्य पालिकाहरूमा पनि प्रभाव पार्न सक्ने देखिएको छ।
उपमहानगरले हेटौंडा अस्पतालमा निर्माणाधीन एक सय शैयाको बाल तथा प्रसूति कक्षको निर्माण कार्य सम्पन्न गरी नवजात शिशुका लागि एनआईसीयू (नवजात शिशु सघन उपचार कक्ष) र पीआईसीयू (बाल सघन उपचार कक्ष) सेवा उपलब्ध गराउने जनाएको छ।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, वन तथा वातावरण व्यवस्थापन, युवा तथा खेलकुद लगायत विभिन्न क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।