किर्ते नागरिकता र भारतीय सेटिङमा अर्बौको साम्राज्यः यस्तो छ शैलेन्द्रमोहन झाको संरक्षित जालो

राजविराज — विगत तीन दशकदेखि सप्तरीको राजविराजमा बसेर देशको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा आफ्नो व्यापक पकड बनाउँदै आएका भारतीय नागरिक शैलेन्द्रमोहन झा सिभिल इञ्जिनियरको आवरणभित्र लुकेका ‘किर्ते नेपाली’ हुन्।
उनीमाथि लाग्ने सबैभन्दा गम्भीर आरोप भनेकै किर्ते कागजात प्रयोग गरी नेपाली नागरिकता प्राप्त गरेर नेपालको संविधान, कानुनी प्रक्रिया र राष्ट्रिय स्वाभिमानमाथि खुला प्रहार गर्नु हो। कानुनको आँखामा समानता हुनुपर्ने सिद्धान्तको उपहास गर्दै, उनले नागरिकता नामको संवैधानिक अधिकारलाई ‘व्यवसायिक उपकरण’ बनाएका छन्।
नेपालजस्तो संवेदनशील राष्ट्रको लागि शैलेन्द्र मोहन जस्ता ब्यक्ति दीर्घकालीन रूपमा खतरनाक हुन सक्छन्। झा जस्ता व्यक्ति जसले आफूलाई कानुनमाथिको नागरिक सम्झिन्छन्, उनीहरूकै कारण राज्यसंस्था गम्भीर संकटमा पर्ने गरेको विगतले पनि देखाएको छ।
भारतमा जन्मिए,सुनसरीबाट नागरिकता लिए— तर जन्मसिद्ध प्रमाण छैन
शैलेन्द्रमोहन झा भारतमा जन्मिएका हुन् भन्ने कुरा स्वयं उनले कहिल्यै खुलस्त अस्वीकार गरेका छैनन्। उनी विहारको सितामढीस्थित कुसहर गाउँमा जन्मिएका हुन। प्रारम्भिक शिक्षा र स्नातकसम्मको अध्ययन पनि त्यहीँ गरेका थिए। भारतमा हुँदै विवाह गरेपछि उनी ०४४ सालमा नेपाल (राजविराज) आएका हुन। सुरुमा उनी राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुमखी क्याम्पसको आसपासमा घर भएका वैंकका कर्मचारीको घरमा भाडामा वस्थे।
उनकै भनाईमा उनले सुरुमा खानेपानी लिमिटेडको सर्वेक्षणको काम गरे। त्यसपछि सस्पेन्सन बृजहरुको सर्वेक्षण, सडक सर्वेक्षण र सानातिना ठेक्का पट्टा गर्न थाले। त्यसमा पैसा कमाएपछि स्वास्थ्य र शिक्षा क्षेत्रमा हात हाले। राजविराजमा छिन्नमस्ता एजुकेशन एकेडमी खोले।
यति गर्दा गर्दै उनले नेपालमा बसेर पोख्त पैसा कमाउन सकिने र प्रभुत्व जमाउन पनि सकिने सम्भवना देखे। त्यस बेलासम्म उनले पर्याप्त पैसा कमाईसकेका थिए। स्रोतका अनुसार उनी पैसा प्रयोग गरेरै नेपालको नागरिक्ता लिने फिराकमा लागे। त्यस वेला उनको छिन्नमस्ता एकेडेमीमा सुनसरीको तत्कालिन नरसिंह गाविसका एक ब्यक्ति कार्यरत थिए।
तिनै कर्मचारीमार्फत झाले नेपाल प्रवेश गरेको ९/१० वर्षपछि नै ०५३ कात्तिक १८ गते नरसिंह गाविस–५ बाट नेपाली नागरिकता लिए– त्यो पनि बंशजको आधारमा। नागरिकताको फारममा जन्मस्थान सुनसरी नै उल्लेख गरिएको छ। त्यतिबेला उनी ३२ वर्षभन्दा बढी उमेरका थिए। प्रश्न उठ्छ — यदि उनी साँच्चै नेपाली थिए भने १६ वर्षको उमेरमा नागरिक्ता लिन सक्ने कानुनी प्रावधान अनुसार किन नागरिकता लिएनन? उनले आफु राजविराजमै जन्मे/हुर्केको दावी गर्ने गरेका छन्। उनकै कुरालाई सत्य मान्ने हो भने पनि ३२ वर्षसम्म उनलाई नागरिक्ता लिन केले छेक्यो भन्ने प्रश्न उठ्छ। फेरी राजविराजको स्थायी वासिन्दालाई सुनसरीबाट कुन कानुन अन्तर्गत नागरिक्ता दिईयो र उनी सप्तरी छोडेर सुनसरीको स्थायी बासिन्दा बन्न किन बाध्य भए ?
यसको जवाफमा झाले केवल मौनता देखाएका छन्। न उनी बुबाको नागरिकता प्रमाण देखाउन सक्ने अवस्थामा छन्, न उनले आफ्नो जन्मस्थानसम्बन्धी स्पष्टता दिन सकेका छन्। यद्यपी, उनले बुबा रघुनाथ झाले सर्लाहीमा नागरिक्ता बनाएको र सोही नागरिक्ताका आधारमा आफुले सुनसरीबाट नागरिक्ता लिएको दावी गर्ने गरेको छन्।
उनकै कुरा मान्ने हो भने पनि, वुबाको बसाई र नागरिक्ता सर्लाही, शैलेन्द्रमोहनको जन्म र बसाई सप्तरीको राजविराज, अनि बंशजको आधारमा आफनो नागरिक्ता लिएको चाहीँ सुनसरीको तत्कालिन नरसिंह गाविस–५। ‘उनले नागरिक्ताका लागि यस्तो घुमाउरो र कष्टकर बाटो किन रोजे ?’ आश्चर्यको विषय बनेको छ। यसबाट आशंका जन्मन्छ कि झाले राजनीतिक पहुँच, कागजी सेटिङ र प्रशासनिक संरचनामा पैसाको बल प्रयोग गरी नागरिकता लिएका हुन्।
पत्रकारको आवरणमा सुरक्षा कवच
अर्कोतर्फ, पैसाको बलमा किर्ते कागजात पेश गरी नागरिकता लिएको विषयले उनको मनमा सुरुवाती चरणदेखि त्रास देखिन्छ। त्यसैले उनले आफूलाई सुरक्षित राख्नका लागि अर्को उपाय रोजे — पत्रकारिता। उनले सप्तरीमा सूचना साप्ताहिक पत्रिका र सी एफएम, काठमाडौँमा आम नेपाली टेलिभिजन सञ्चालन गरेका छन्। विराटनगरको नागरिक एफएममा पनि उनको स्वामित्व रहेको अनुमान छ।
यिनै माध्यमको प्रयोग गरेर उनी राजनीतिक नेतासँग सामीप्यता बढाउँछन्। सुरक्षाकर्मी र प्रशासकसँग सम्बन्ध गाँस्छन् र पत्रकारका नाममा नाजायज कामको पर्दा हाल्छन्। पत्रकार महासंघको सदस्यता पनि उनैलाई जोगाउने हतियार बनेको छ। कुनै पत्रकारले नागरिकताको विषयमा प्रश्न उठाउँदा उनी सीधै जवाफ नदिई ‘म पनि पत्रकार नै हुँ’ भन्दै सांकेतिक रुपमा धम्की दिन्छन्।
जानकारहरुका अनुसार यसरी, पत्रकारको चोला ओढेर नागरिकता जस्ता गम्भीर अपराधबाट जोगिन खोज्नु पत्रकारिता क्षेत्रकै अपमान हो। सप्तरीमा उनको बारेमा जानकारी नपाउँने सायदै कोही होला। तर डर, त्रास, प्रलोभन र प्रभावका कारण राजनीतिक दलका नेता, प्रहरी/प्रशासन र पत्रकारसम्म कोही बोल्ने हिम्मत गर्दैनन।
सप्तरीका पत्रकार त झाको नागरिक्ता प्रकरण मात्र होईन, गाँजा तस्करी प्रकरणमा समेत मुकदर्शक छन्। प्रहरीले तस्करहरु भएको र प्रमाण नष्ट गरेर संलग्नलाई जोगाएको विषयमा समेत सप्तरीका पत्रकारले कलम चलाउन सकेका छैनन्। उनीहरुको यो लाचारीले गाँजा तस्करसँग उनीहरुकै साँठगाँठ त छैन ? भन्ने प्रश्न खडा भएको छ।
शिक्षा र स्वास्थ्यमा लगानी, तर पैसाको स्रोत अपारदर्शी
शैलेन्द्रमोहनले राजविराजदेखि काठमाडौंसम्म विभिन्न कलेज, अस्पताल तथा तालिम केन्द्र सञ्चालनमा ल्याएका छन्। ललितपुरको होप इन्टरनेशनल कलेज, काठमाडौंको एक्मी कलेज अफ इञ्जिनियरिङ, सिन्धुलीको टेक्निकल ट्रेनिङ सेन्टर, राजविराजको छिन्नमस्ता एजुकेशन एकेडेमी र छिन्नमस्ता अस्पताल – यी सबै उनी वा उनका पारिवारिक सदस्यद्वारा सञ्चालित छन्।
सामान्य पेसागत आम्दानीले मात्रै यति ठूलो लगानी कसरी सम्भव भएको छ ? भन्ने अर्को प्रश्न खडा भएको छ। उनले यो लगानी भारतबाटै भित्र्याएको वा अवैध व्यापारमार्फत आर्जन गरेको हुन सक्ने आशंका पनि छ। तर, यसको विषयमा खोजविन र छानविन गर्ने हिम्मत पनि अहिलेसम्म कसैले गरेको छैन।
विशेष गरी शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा शंकास्पद ब्यक्तिको लगानी हुनु नेपालका लागि नै खतराको सूचक हो। अझ प्रस्ट भन्दा राज्यको आधारभूत संरचनामा नै घुसपैठ हो।
मधेश आन्दोलनमा भारतीय दुताबासको भुमिका र झाको रहस्यमय सम्पर्क
झासँग सम्बन्धित अर्को गम्भीर आरोप भनेको मधेश आन्दोलनको क्रममा भारतीय अधिकारी र कर्मचारीलाई सप्तरी बोलाएर आन्दोलन चर्काउने काममा भूमिका खेलेको हो। २०७२/०७३ को मधेश आन्दोलनको उत्कर्षका बेला (०७३ वैशाख २८ गते राति) शैलेन्द्रमोहनले काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमार र अन्य कर्मचारीहरुलाई बोलाएर राजविराजको आफ्नै इन्स्टिच्युटमा मधेशवादी दलका नेताहरुसँग भेट गराएका थिए।
भेटघाटको सम्पूर्ण ब्यवस्थापन उनैले गरेका थिए। त्यही भेटघाटपछि मधेशवादी दलका नेता/कार्यकर्ताले भारतीय प्रशासन, सुरक्षाकर्मी र दलहरूसँग मिलेमतो गरी दशगजामा बसेर नेपाल र नेपालीहरुमाथि ढुङ्गामुढा गरेका थिए।
यही आन्दोलनलाई देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाइयो, जसले नेपाली जनजीवन तहसनहस भयो। नेपालतर्फ आउने पेट्रोलियम पदार्थ, ग्याँस, खाद्यान्न, औषधी सवै रोकियो। मुलुक गम्भीर मानवीय संकटमा फस्यो। तर, झा र उनीजस्ता व्यक्तिहरूले त्यो संकटलाई आफनो प्रभुत्व जमाउन र राजनीतिमा आफनो उपस्थिती देखाउन अस्त्रका रूपमा प्रयोग गरेको विभिन्न स्रोतहरुले पुष्टि गर्छ।
शैलेन्द्रमोहनले यसमा सक्रिय भूमिका खेलेको आरोप केवल अनौपचारिक होइन, प्रत्यक्ष संलग्नताका प्रमाणहरूसमेत सार्वजनिक भएका छन्। यो विषय त्यतिवेला मुलुकका प्रमुख मिडियाले समाचार बनाएका थिए। देशले विदेशी हस्तक्षेपबाट रक्षाको अपेक्षा गर्ने बेला, उनी विदेशी एजेन्टको रूपमा देखा परेका थिए।
राज्य संयन्त्रको मौनता र नियोजित संरक्षण
झाको नागरिकता शंकास्पद छ, विदेशी सम्बन्ध रहस्यमय छन्। सञ्चारमाध्यमको प्रयोग दुरुपयोगको सीमाभन्दा बाहिर छ। तर, राज्यको कुनै संयन्त्रले उनलाई कहिल्यै गम्भीर रूपमा कारवाही गरेको छैन। प्रहरी प्रशासन, अख्तियार, सम्पत्ति सुद्धिकरण विभाग सबैले उनको विषयमा जानकारी हुँदाहुँदै कुनै कदम चाल्न सकेका छैनन्। यसको एकमात्र कारण हो – उनीसँग भएको राजनीतिक संरक्षण, सञ्चारको डर, र पैसाको प्रभाव।
उनको संरक्षित जालो यति गहिरो छ कि राज्यका हरेक तहमा प्रभाव पार्न सक्षम देखिन्छन। अहिलेको अवस्था हेर्दा शैलेन्द्र मोहन झा एक व्यक्ति होइनन् — नेपालको कानुनी प्रणाली, राष्ट्रियता र सुशासनमाथि खनिएको एक खतरनाक सुरुङको नमुना हुन्।
यसरी कानुनलाई मिच्दै, विदेशी प्रभाव भित्र्याउँदै, सत्ता संरचनालाई गिज्याउँदै उनीजस्ता व्यक्तिहरू शक्तिशाली भइरहे भने नेपालीहरु नेपालभित्रै अनागरिक हुनु पर्ने र आफनो हक अधिकारीका लागि उनीहरुकै अगाडि हात पसार्नु पर्ने अवस्था आउने जानकारहरु बताउँछ।
यो पनि,