झापामा ३ दिनदेखि हराएका १२ वर्षीय बालकको शव भेटियो, घट्ना शंकास्पद

दमक— झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा मंगलबार बिहान एक बालकको शव फेला परेको छ। स्थानीय मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय छोरा सुसान शेर्पाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार कपडा विनाको शव खोलाले बगाएर ल्याएको सूचनापछि इलाका प्रहरी कार्यालय तोपगाछीबाट खटिएको प्रहरीले घट्नास्थलबाट शव बरामद गरेको हो।
शवको पहिचान गर्दा मृतक सुसान भएको खुलेको प्रहरीले जनाएको छ। उनी असार ८ गते अपराह्न ३ बजेदेखि घरबाट सम्पर्क विहिन भएका थिए। उनका आफन्त तथा छिमेकीले खोजी गरे पनि फेला नपरेपछि सुसानका पिताले असार ९ गते इलाका प्रहरी कार्यालय तोपगाछीमा औपचारिक उजुरी दिएका थिए।
बालकको शव भेटिएको स्थान र प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको विस्तृत पृष्ठभूमि र सम्भावित कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ।