सुनसरीको रामधुनीमा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरा सहित तीनको मृत्यु

इटहरी– सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा कान्छी चोक सडकखण्डमा शनिबार साँझ भएको भीषण मोटरसाइकल दुर्घटनामा बाबुछोरा सहित तीन जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

राति करिब ७ बजे कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिश चौधरी र इनरुवा नगरपालिका–६ का ५० वर्षीय बिन्दु यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले तिनै जनालाई मृत घोषित गरेका हुन्।

घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा चौधरी र बिन्दु यादवसँगै सवार इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरू हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट