मधेशका मुख्यमन्त्री सिंहको लिलाः आफ्नै बुवाको अधुरो छात्रावासका लागि १ करोड ८० लाख बजेट

राजविराज — सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा भारतीय दुताबासको बजेट मार्फत बनेको अधुरो कन्या छात्रावासका ठेकेदार तथा आफ्ना बुबा शेखर कुमार सिंहलाई पोस्न मधेशका मुख्यमन्त्री सतिश सिंहले आगामी आवका लागि बजेट छुट्याएको आरोप लागेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा राजविराजस्थित कन्या छात्रावासका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरेपछि तीव्र विवाद चुलिएको छ। यो रकम सिधै निर्माण समितिलाई बाँकी भुक्तानीका रूपमा दिन खोजिएको आरोप छ। यो प्रकरणपछि प्रदेश सरकारमाथि सत्ता र पहुँचको चरम दुरुपयोगको आरोप लागेको हो।

२०६२ सालमा भारतीय दुतावासको १ करोड ९६ लाख ४५ हजार रुपैयाँ सहयोगमा कन्या छात्रावास निर्माण सुरु भएको थियो। तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण समिति गठन गरिँदा अध्यक्षता कुनै अन्य व्यक्तिले नभई शेखर कुमार सिंहले गरेका थिए। उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रिय सभा सदस्यसमेत छन् र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका पिता हुन्।

निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि छात्रावास अझै अधूरो छ। भवनको झ्याल, ढोका, छतको रेलिङ, क्यान्टिन, शौचालय र अन्य संरचनाको काम अलपत्र अवस्थामा छ। निर्माण समितिले घाटा लागेको भन्दै काम छोडिदिएपछि त्यसयता पटक–पटक बजेट विनियोजन प्रयास भए पनि काम सम्पन्न हुन सकेन।

यसबीच, मधेश प्रदेश सरकारले बजेट छुट्याउने निर्णयलाई कानुनी मान्यता नरहेको कानुनविद्हरू बताउँछन्। किनभने यो रकम सार्वजनिक टेन्डर वा योजना स्वीकृतिबिना पुरानो समितिलाई सिधै भुक्तानी गर्ने खालको व्यवस्था हो।

मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले यो निर्णयलाई सत्ताको चरम दुरुपयोगको उदाहरण बताएका छन्। पूर्वमन्त्री साह भन्छन्, ‘मुख्यमन्त्री पदको दुरुपयोग गर्दै आफ्नै पिताले अध्यक्षता गरेको समितिका लागि २० वर्षअघिको बाँकी पैसा असुल्ने प्रपञ्च चलाइएको छ। यो छात्रावास बनाउन होइन पैसा असुल्न बनाईएको योजना हो।’

उनले यस्तो कामले सरकारको नैतिकता र सार्वजनिक स्रोतको सदुपयोगमा गम्भीर प्रश्न उठाउने जिकिर गरे। ‘अहिले छात्रावास बन्नेभन्दा पनि पैसा कसरी निकाल्ने भन्नेमा सरकार केन्द्रित देखिन्छ। बजेट प्राविधिकरूपमा पनि विवादित छ,’–साहले भने।

यसैगरी, संघीय सरकारका पूर्वमन्त्री उमेशकुमार यादवले मुख्यमन्त्री र मन्त्रीले आफ्नो र आफ्नो परिवारको खेताला बुझ्ने मानसिकताले संघीयताको मर्ममाथि प्रहार गरेको उल्लेख गरेका छन्।

यता, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भने कन्या छात्रावास सञ्चालनमा ल्याउन बजेट विनियोजन गरिएको बताए। राजविराज र सप्तरीका सर्वसाधारणले छात्रावासको पुरानो हिसाव नै अपार्दर्शी रहेका वेला प्रदेश सरकारले फेरी बजेट राखेर लुटको श्रृंखला चलाएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट