घुस नदिने ठेकेदारको भुक्तानी रोक्न कार्यालय नै छोडेर फरार भए गाउँपालिकाका कर्मचारी

राजधानी– आर्थिक वर्षको अन्त्यको समय अर्थात असारको अन्तिम सातालाई क्लोजिङका लागि सबैभन्दा संवेदनशील समय मानिन्छ। यही बेलामा रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी कार्यालयबाट सम्पर्कविहीन भए।

‘नेपाल टेलिकमको नेटवर्कमा समस्या आएकाले काम गर्न रुकुमपूर्व जानु पर्यो’ भन्दै गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरसँग अनुमति मागेर २३ असारमा हिँडेका उनीहरु अचानक सम्पर्कविहिन भए। सवै कर्मचारीको मोवाईल स्विच अफ भयो। त्यसपछि भने हल्लाखल्ला मच्चियो।

त्यसपछि बल्ल थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले कर्मचारीको टोली सम्पर्कविहीन भएको विज्ञप्ति सार्वजनिक गरेका थिए। जिल्ला प्रशासक कार्यालयले कर्मचारीको खोजी गर्न प्रहरी परिचालन गर्यो। यति भईसकेपछि भने कर्मचारीहरु सम्पर्कमा आएका छन्। यथार्थमा ती कर्मचारीहरू रुकुम होइन, गुल्मी पुगेको प्रमाणित भएको छ। अध्यक्ष बुढामगरका अनुसार उनीहरू बिहीबार बिहान मात्र गुल्मीबाट सम्पर्कमा आएको बताए।

तर त्यत्तिमा मात्र विषय सिध्दिएको छैन। घटनालाई झनै गम्भीर बनाएको छ निर्माण व्यवसायीहरूद्वारा लगाइएको घुस मागेको आरोपले। भुक्तानी प्रक्रिया अगाडि बढाउन घुस मागिएको, रकम नदिएपछि भुक्तानी रोकिएको र सम्बन्धित कर्मचारीहरू फरार भएको दाबी ठेकेदार पक्षले लगाएका छन्। एक व्यवसायीले भने, ‘हामीले घुस दिन नमानेपछि पहिला औटीपी कोड आएन भन्दै बहाना बनाए, त्यसपछि कार्यालय नै छोडेर भागे।’

यो घट्नाले जनमानसमा गम्भिर आशंका उत्पन्न गराएको छ। तर, अध्यक्ष बुढामगरले उहाँहरूले काम गर्न बाहिर जानुपर्छ भनेपछि अनुमति दिएको बताएका छन्। ‘तर फोन नै स्वीच अफ भएपछि कार्यालयले सूचना निकाल्नुप¥यो’ उनले भने।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमबहादुर डाँगीले प्रारम्भिक रूपमा भुक्तानी प्रक्रिया अवरुद्ध भएको सूचना आएको बताएका छन्। वडा नं. २ का पूर्ववडाध्यक्ष बसन्त रोकामगरले ठेकेदारसँग बार्गेनिङ नमिल्दा कर्मचारी फरार भएको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका छन्।

घटनाको केन्द्रमा रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर घर्तीमगरले पत्रकारको सोधपुछमा स्पष्ट जवाफ दिन अस्वीकार गर्दै ‘गाडीमा छु, पछि कुरा गरौंला’ भन्दै संवाद टारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट