ससुराली जाँदै गरेका दाजुभाइमाथि बाटैमा हमला, भाइको मृत्यु, दाजु गम्भीर घाइते

विराटनगर– पाँचथरमा ससुराली जाँदै गरेका दाजुभाइको बाटैमा झगडा हुँदा भाइको हत्या भएको छ भने दाजु गम्भीर घाइते भएका छन्। पाँचथरको माइजोगमाई गाउँपालिका–२ का २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो।
प्रकाश आफ्ना दाजु ३२ वर्षीय निरोज चापागाईंसँग ससुराली गएका थिए। त्यही क्रममा इलामको सूर्योदय नगरपालिका–१ स्थित शिरिसेमा स्थानीय काजी तामाङको घरमा उनीहरूको ३३ वर्षीय किरण शेर्पासँग भनाभन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
झगडाकै बीच शेर्पाले धारिलो हतियार प्रयोग गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो। दाजु निरोजको पेटमा पनि गहिरो चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते निरोजलाई उपचारका लागि फिक्कल पठाइएको छ।
घटनापछि आरोपी शेर्पालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जनाएको छ। झगडाको कारणबारे यकिन खुल्न नसकेको प्रहरीले जनाएको छ।