जीवन सहज बनाउने सपना लिएर युएई गएका लेखनाथले दुई महिना नपुग्दै त्यहीँ ज्यान गुमाए

विराटनगर– वैदेशिक रोजगारीका लागि युएई पुगेको २ महिना नपुग्दै इलामको सूर्योदय नगरपालिका–७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडा मृत्यु भएको छ।
गम्भिर विरामी परेपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा असार २८ गते मृत्यु भएको हो। विदेश गएर जीवन र मृत्युसँग संघर्ष गरेका लेखनाथले अन्ततः मृत्युलाई जित्न नसकेको यो घट्नाले परिवारमा शोक र छटपटी छाएको छ।
लेखनाथ जेठ ५ गते मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा काम गर्न युएई प्रस्थान गरेका थिए। त्यहाँ पुगेको केही समयपछि (असार ८ गते देखिनै) नै गम्भिर विरामी परेका उनलाई स्थानीय एआई रोसिड अस्पतालमा भर्ना गरियो। सुरुमा सेतो रक्त कोशिकाको कमी देखिए पनि स्थिति जटिल बन्दै निमोनिया देखिएको र गम्भीर अवस्थामा आईसियूमा राखेर उपचार गरिएको थियो।
अन्ततः उनको विदेशी भुमिमै असार २८ गते मृत्यु भएको छ। उनको उपचारमा भएको आर्थिक बोझले परिवारलाई थप कठिनाइमा पारेको स्थानीयहरु वताउँछन्। स्थानीय लिलाधर खतिवडाले भने, ‘लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरियो, तर लेखनाथलाई बचाउन सकिएन।’
लेखनाथको यो दुःखद निधनले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपर्ने पीडा र चुनौतीहरूलाई पुनः उजागर गरेको छ।