सिरहामा विद्यालयका कम्प्युटर अपरेटरद्वारा सुरक्षा गार्डको खाताबाट तीन लाख रुपैयाँ चोरी

लहान— सिराहाको गोलबजार नगरपालिका–८, चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड समरबहादुर श्रेष्ठको बैंक खाताबाट विद्यालयकै कम्प्युटर अपरेटरले मोवाईल बैंकिङको प्रयोग गरी ३ लाख रुपैयाँ चोरी गरेको घटना सार्वजनिक भएको छ।
लेखपढ गर्न नसक्ने अपांगता भएका श्रेष्ठको खातामा मृत पत्नीको बीमा रकम जम्मा भएको थाहा पाएपछि कम्प्युटर अपरेटर गोलबजार–७ का ३६ वर्षीय रामपुकार ठाकुरले मोबाइल बैंकिङको प्रयोग गर्दै रकम आफ्नो खातामा सारेका हुन्।
श्रेष्ठको बहिनी कल्पना श्रेष्ठका अनुसार दाजुको नाममा कुमारी बैंकमा जम्मा भएको चार लाख रुपैयाँमध्ये असार महिनाको अन्त्यतिर ठाकुरले तीन लाख रुपैयाँ नेपाल बैंकमा रहेको आफ्नो खातामा सारेका थिए। मोबाइल बैंकिङको फाराम भराउने बहानामा ठाकुरले श्रेष्ठलाई बैंकसम्म पु¥याएको र पासवर्ड लिएर आफैंले रकम सारेको खुलेको छ। स्थानान्तरण गरेका थिए। ‘म काठमाडौंबाट फर्केपछि बैंक स्टेटमेन्ट हेरेर मात्रै थाहा पाएँ,’– कल्पनाले भनिन्।
घटनाबारे ठाकुरलाई सोधपुछ गर्दा उनले सुरुमा रकम लिएको इन्कार गरेका थिए। तर, प्रहरी र मिडियामा जाने चेतावनी दिइएपछि ‘सापटी स्वरूप लिएको’ भन्दै रकम फिर्ता गर्ने आश्वासन दिएका थिए। ‘श्रेष्ठकै स्वीकृतिमा सापटी लिएर पछि बैंकमा फिर्ता गरिसकेको छुँ।’– उनले भनेका छन्। तर कल्पनाले भने उनले झूटो बालेको बताएकी छिन्।
विद्यालयका प्रधानाध्यापक ब्रम्हदेव सिंहले भने, ‘दुबैको बीच आपसी बुझाइमा भएको लेनदेनजस्तो देखिन्छ। बहिनीले मौखिक उजुरी दिएकी थिइन्, शनिबार बिदा परेकोले आइतबार नै रकम फिर्ता भएको भन्ने जानकारी पाएको छु।’
रामपुकार ठाकुर हाल ज्यालादारी सेवामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत छन् तर लेखापाल नभएपछि उनी विद्यालयको आर्थिक कारोबारसमेत हेर्दै आएका छन्। यही पहुँचको दुरुपयोग गरेर उनले मोबाइल बैंकिङको पासवर्ड लिएर रकम आफनो खातामा सारेको देखिएको विद्यालय प्रशासनले जनाएको छ।