सिन्धुलीमा १६ जनाको परिवार बेपत्ता प्रकरणः ८ लाख भत्ता बुझेको दिन सुँगुर काटेर खाए, खसी बेचे, भोलिपल्टदेखि सम्पर्कविहीन

राजधानी— सिन्धुलीको गोलनजोर गाउँपालिका–६ बिप्पर कटेरीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएका छन्। बेपत्ता उर्मिला हायुको परिवारले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताको ८ लाख रूपैयाँभन्दा बढी रकम चार दिनअघि मात्र एकमुष्ट रुपमा लिएका थिए। सोही दिन घरमै सुँगुर काटेर मासु खाएको र भोलिपल्टदेखि सम्पर्कविहीन भएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बेपत्ता परिवारले बिहीबार (८ साउन) को दिन घरमै सुँगुर काटेर मासु खाएको जानकारी गाउँलेहरूले दिएका छन्। त्यसपछि उनीहरू सम्पर्कविहीन छन्।
सिन्धुलीका प्रहरी, स्थानीय प्रशासन र स्थानीय बासिन्दाले सोमबार बिहानदेखि खोजी सुरु गरेका छन्। उनीहरू बसोबास गर्दै आएको घर टाढा र एकान्तमा भएकाले ढिलोसम्म पनि बेपत्ताबारे जानकारी पाइएको थिएन।
गोलनजोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाएको देखिएको छ। काठहरू डढेका छन्, केही लुगाहरू झुन्डिएको अवस्थामा भेटिएका छन्। भाँडाकुँडा घरबाहिर देखिन्छन् तर जस्ताले छाएको घरभित्र कोही छैन।
उर्मिला हायुको परिवारको अर्को बसोबास रामेछापमा पनि भएकाले प्रहरी त्यसतर्फ पनि खोजी कार्यमा खटिएको छ। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन।
गोलनजोर–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बेपत्ता परिवारले सीमान्तकृत समुदायका सदस्यको नाताले पाउने सामाजिक सुरक्षा भत्ताबापत एकैपटक १८ जनाको नाममा झन्डै ८ लाख रुपैयाँ बैंकबाट झिकेका थिए। त्यसपछि घरमा आफ्नै सुँगुर काटेर खाएका थिए। त्यसको भोलिपल्टदेखि उनीहरू सम्पर्कविहीन छन्।
श्रेष्ठले सोमबार बिहान ११ बजेपछि मात्र घटनाबारे थाहा पाएर प्रहरीसहित घटनास्थल पुगेका थिए। उनले बताएअनुसार परिवारले भत्ता बुझेको दिन खसी पनि बेचिएको थियो। गाउँलेका अनुसार तीन दिनदेखि गोठमा बाँधिएको पाडो पनि बेवारिसे थियो, जसका कारण छिमेकीले शंका गरी घर पुग्दा कोही नभेटिएको हो।
वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उहाँहरू तीन दिनदेखि हराएको हो कि हिजो राति मात्रै? यो प्रस्ट छैन। घरमा गाईबस्तु भोकले कराइरहेका छन्। बाख्राहरू छन्, कुखुरा छन्। आगो लागेझैं भएको देखिन्छ। सुँगुर २ धार्नी जति मासु पनि आँगनको छेउमा भेटिएको छ।’
उर्मिला हायुको परिवारमा उनका छोराछोरी, बुहारी, नातिनातिना गरी १६ जना सदस्य छन्। परिवारका सबै सदस्य अचानक हराएको घटनाले गाउँ नै स्तब्ध बनेको छ। प्रहरी र स्थानीय प्रशासनले संभावित सबै ठाउँमा खोजी जारी राखेको जनाइएको छ।
रामेछापका डीएसपी भोलाकुमार भट्टका अनुसार, रामेछापको हायु समुदाय रहेको केही ठाउँमा पनि खोजी गरिएको छ, तर अहिलेसम्म फेला नपरेको जानकारी दिएका छन्।
स्थानीयका अनुसार हायु परिवारको बैंक, सहकारी र गाउँमा निकै ऋण भएको पनि खुलेको छ। प्रहरीले सम्पत्ति, ऋण तथा परिवारको आर्थिक अवस्था समेत अनुसन्धानको दायरामा ल्याएर खोजी कार्य तीव्र बनाएको जनाएको छ। तर घटनाको कारण, अवस्था र यथार्थबारे ठोस निष्कर्ष ननिस्कँदासम्म यो घटना रहस्यमय नै देखिएको छ।