९ वर्ष पालेको कुकुर हराएपछि शोक मनाउन कपाल मुण्डन गरेर किरिया गर्दै वडा सदस्य, श्रद्धाञ्जली दिन पुगे वडाध्यक्ष

राजधानी– दाङको तुलसीपुर उपमहानगरपालिका–१७, मानपुरका वडा सदस्य शशीधर पौडेल घरमा पालेको कुकुर (रमी) हराएपछि शोक मनाउन किरिया बसेका छन्। तर, कुकुर मरेको पुष्टि भने भएको छैन।

साउन ६ गते हराएको कुकुर ९ दिनसम्म पनि फेला नपरेपछि उनी कपाल मुण्डन गरी, सेतो कपडा लगाइ नुन छाडेर किरिया बस्न थालेका हुन। शशीधरले उक्त कुकुर ०७३ साउन ६ गते काठमाडौंबाट ५ हजार ७ सय रुपैयाँमा किनेर घर लगेका थिए, जसको नाम थियो–रमी। त्यो दिनदेखि उनीहरूको सम्बन्ध मालिक र पाल्तु जनावरभन्दा पर गयो—रमी परिवारको सदस्यझैं बन्यो।

रमी बफादार मात्र नभएर सुरक्षा संवेदनशील पनि थियो। घरमा कोही नभएको बेलामा कसैलाई प्रवेश गर्न दिंदैनथ्यो। तर कहिल्यै कसैलाई टोक्ने, दुःख दिने काम पनि गरेन। साउन ६ गते बिहान शशीधर मोटरसाइकल लिएर लालपुरतिर घुमेर फर्किएपछि रमी पनि घरमै थियो। तर केही समयपछि शशीधर बाहिर निस्कँदा रमी पछ्याउँदै गएको जानकारी पाए। नहर छेउमा रगत देखेपछि उनले भुस्याहा कुकुरको आक्रमणमा परेको हुनसक्ने आशंका गरे।

कतै भेटिन्छ कि भनेर गाउँ–गाउँ खोज्दा पनि रमी फेला परेन। त्यसपछि उनले किरिया प्रक्रिया सुरु गरे। शशीधरका घरमा श्रद्धाञ्जली दिन वडाध्यक्ष र स्थानीय जनप्रतिनिधिहरू पुगे। वडाध्यक्ष थलराज पुरीका अनुसार शशीधर रमीलाई निकै माया गर्थे। उनी नभएको घर सुन्न लागेको बताउँछन् शशीधर। उनका अनुसार घरमा छोरा दुबई र छोरी काठमाडौंमा छन्। शशीधर र श्रीमती सुशीलाका लागि रमीसाथी जस्तै बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट