फेसबुक कमेन्ट विवादले बिर्तामोडका उपमेयरले कार्यकक्षमै झण्डै कुटाई खाए, वडाध्यक्षद्वारा आक्रमणको प्रयास

दमक— सामाजिक सञ्जालमा गरिएको एउटा टिप्पणीले झापाको बिर्तामोड नगरपालिकाको नेतृत्व तहमै तनाव सिर्जना गरेको छ। फेसबुकमा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाद्वारा गरिएको एक टिप्पणीको जवाफमा वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीको समुहले कार्यालयमै उनीमाथि हातपातको प्रयास गरेको छ।
कार्की आक्रोशित हुँदै ‘हुलसहित’ उपमेयरको कार्यकक्षमै प्रवेश गरी गालीगलौज र हातपातको प्रयास गरेपछि नगरभित्रको शक्ति संघर्ष सतहमा आएको हो। बुधबार दिउँसो करिब १ बजे उपमेयर संग्रौलाको कार्यकक्षमा मेलमिलापकर्ताहरूको वार्षिक समीक्षा बैठक चलिरहेका बेला कार्की झण्डै २५–३० जनाको समूह लिएर कार्यकक्षमै पुगेका थिए।
त्यहाँ उनले फेसबुक कमेन्टको विषय उठाउँदै उपमेयरमाथि गालीगलौज, अभद्र व्यवहार गर्दै झगडामा उत्रन खोजेको आरोप लागेको छ। नेकपा एमालेले उक्त घटनाप्रति आपत्ति जनाउँदै वडाध्यक्ष अजय कार्कीको व्यवहारको विरोध गरेको छ।
एमालेका अनुसार विवाद समाधानका लागि बसेको कार्यपालिकाको बैठकमा पनि वडाध्यक्ष कार्की अनुपस्थित रहनुले उनी स्वयं मेलमिलापभन्दा टकरावतर्फ उन्मुख रहेको सन्देश दिएको छ।
एमालेले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत आरोप, सामाजिक सञ्जालमा अफवाह तथा नकारात्मक टिप्पणी बन्द गर्न अपिल गरेको छ। साथै, यस घटनामा कसैले अन्याय महसुस गरेको भए कानुनी बाटो खुला रहेको भन्दै दुवै पक्षलाई विधिसम्मत समाधान खोज्न सुझाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक पदमा बसेका जनप्रतिनिधिहरूको टिप्पणीले यति ठूलो झगडा निम्त्याएको घटनाले राजनीतिक मर्यादा र संयमता प्रश्नको घेरामा परेको छ। जनता सामु उपस्थित हुने नेताहरू नै यदि कार्यकक्षमै ‘हुलसहित’ आक्रोश प्रदर्शनमा उत्रिन्छन् भने मेलमिलाप र सहकार्यको मूल्य कति बाँकी रहन्छ ?