झापामा स्कुल भ्यान दुर्घटना हुँदा २१ जना घाइते

दमक– झापाको मेचीनगर नगरपालिका–९, खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा विहिबार स्कुल भ्यान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

बिहान साढे ९ बजे पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट विद्यालयतर्फ आउँदै गर्दा अनियन्त्रित भई टिमाई खोल्सीमा खसेर दुर्घटना भएको हो।

भ्यानमा सवार बालबालिका, एक शिक्षक र चालक घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई तत्कालै बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा रिफर गरिएको छ भने अन्यको उपचार धुलाबारीस्थित आम्दा मेची अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते तीन जना विद्यार्थीको अवस्था मध्यम रहेको र अन्य धेरैजसोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्छ । घटनापछि धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको नेतृत्वमा उद्धार टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा सबै घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको हो। दुर्घटनाग्रस्त स्कुल भ्यानको प्रविधिगत अवस्था कमजोर रहेको देखिएको प्रहरीको भनाइ छ।

स्थानीय अभिभावकले विद्यालय सवारीसाधनको नियमित निरीक्षण र मर्मतसम्भार, साथै चालकको दक्षता अनिवार्य बनाउन माग गरेका छन्। पुराना र जीर्ण सवारीसाधन प्रयोग गरिँदा बालबालिकाको सुरक्षामा जोखिम देखिएको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट