पाँच दिनदेखि बेपत्ता दाजुबहिनीको शव खोलामा भेटियो

विराटनगर– पाँच दिनदेखि हराइरहेका पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुका दाजुबहिनी मृत अवस्थामा फेला परेका छन्। ९ वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानु राईको शव मंगलबार बिहान बिरुवा खोलामा फेला परेको हो।

स्थानीय बिर्ख राईका छोराछोरी शिशिर र नानु साउन १५ गते (शुक्रबार) बिहानदेखि सम्पर्कविहीन थिए। विरुवास्थित पूर्ण आधारभूत विद्यालयमाथि रहेको घरमा हजुरबा–हजुरआमासँग वस्दै आएका उनीहरु साउन १४ गते साँझ विद्यालयमुनि रहेको बुबाको घर आएका थिए।

बुबा नभेटिएपछि छिमेकी कलम बान्तावाको घरमा बास बसेका उनीहरू भोलिपल्ट बिहान पुनः हजुरबा हजुरआमासँग जान भन्दै हिँडेका थिए। वडाध्यक्ष राजेन्द्र खालिङका अनुसार तर, शिशिर र नानु त्यसदिन घर नपुगी हराएका थिए।

बेपत्ता भएको सूचना पाएपछि याङवरक–१ स्थित प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली र स्थानीयवासीले चार दिनसम्म खोजी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले दुवै बालबालिकाको शव बिरुवा खोलामा भेटिएको पुष्टि गरेका छन्। ‘हराइरहेका भनिएका दुवै बालबालिकाको शव खोलाबाट फेला परेको छ, घटनाबारे अनुसन्धान जारी छ’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट