सप्तरीको कमलपुरमा प्रहरीको गोली लागि विव्यस अध्यक्षको मृत्यु भएपछि राजविराजमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

राजविराज– सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि सदरमुकाम तनावग्रस्त बनेको बनेको छ। मृतक लालु यादवको पक्षमा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन बुधबार दिउँसो प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
घटनाको सुरुआत मंगलबार राति अवैध मदिरा तस्करी नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथि स्थानीय र तस्कर समूहले ढुंगामुढा र आक्रमण गरेपछि भएको थियो। प्रहरीका अनुसार सो झडपमा जवाफी कारबाही स्वरूप चार राउन्ड गोली चलाइएको थियो। गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादव गम्भीर घाइते भएका थिए। उनको तिघ्रामा गोली लाग्दा अत्यधिक रक्तश्राव भई उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी र मृतक पक्षबीच घटनाको व्याख्या फरक छ। प्रहरीका अनुसार तस्कर समूहले स्थानीयको मिलोमतोमा अवैध मदिरा छाप्रोमा लुकाइराखेको सूचना पाएपछि सर्च अपरेसन गरिएको थियो। सो क्रममा नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको र गोली चलाउनुपरेको सप्तरी प्रहरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको छ।
तर मृतकका आफन्त र स्थानीयले भने लालु यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेको र उनलाई तस्करको इसारामा योजनाबद्ध रूपमा गोली हानेर हत्या गरिएको आरोप लगाइरहेका छन्। मृतकको पक्षमा बुधबार बिहानैदेखि स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्दै आएका थिए।
प्रदर्शन चर्किएपछि दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। एसपी गौतमकुमार केसीले प्रदर्शनकारीले सुरक्षा घेरामाथि ढुंगामुढा गरेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको बताए। उनका अनुसार ढुंगामुढामा परी ४–५ जना प्रहरी घाइते भएका छन्।
प्रदर्शनकारीका अनुसार अश्रुग्यास प्रहार गर्दा भागाभाग मच्चिएको थियो र तीन/चार जना सर्वसाधारण घाइते भएका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
यो पनि,