सिरहाको कल्याणपुरका मेयरविरुद्ध घुसकाण्डमा विशेष अदालतमा मुद्दा
राजविराज— सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार साह विरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार वडा नम्बर ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग बिचौलिया मार्फत घुस मागेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो।
अनुसन्धानमा साहले सेवाग्राहीसँग भुक्तानी प्रयोजनका लागि १ लाख मागेको र लिएको पनि प्रमाणित भएको आयोगले जनाएको छ। यस आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम कायम गरी कैद सजाय र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

