सिरहामा चप्पलको सुराक पछ्याउँदै प्रहरीले पक्राउ गर्यो वृद्ध हत्याका २ अभियुक्त

लहान— १५ दिनअघि सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्ने लहान नगरपालिका–२४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घटनाको सुराग फेला पार्न प्रहरीले प्रयोग गरेको मुख्य प्रमाण भने घटनास्थलमा भेटिएको एउटा चप्पल हो, जसले अनुसन्धानलाई निर्णायक मोडमा पुर्‍याएको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन्। सिरहाका एसपी अनन्तराम शर्माका अनुसार उनीहरू चोरी गर्ने उद्देश्यले वृद्धको घर पसेका थिए।

घरभित्र छिरेपछि फनिलालले प्रतिरोध गर्न खोजेपछि चौधरीले साथमा रहेको खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटनास्थलबाट एउटा चप्पल र खुकुरी बरामद गरिएको थियो।

उक्त चप्पलको आधारमा अनुसन्धान अघि बढाइएको थियो। सीसीटीभी फुटेजमार्फत घटनास्थल वरिपरि देखिएको व्यक्तिको चालढाल र लगाएको चप्पल मिल्दा प्रहरीको शंका तीव्र भएको हो।

यही सुराकलाई पछ्याउँदै जाँदा साउन २३ गते प्रहरीले मण्डललाई पक्राउ गर्यो। सोधपुछका क्रममा मण्डलले घटनामा आफनो संलग्नता स्विकार गरे। उनकै वयानका आधारमा साउन २७ गते महेश पनि पक्राउ परेका हुन।

प्रहरीले घटनास्थलबाट बरामद खुकुरी, चप्पल र अन्य फरेन्सिक प्रमाणसहित दुवैलाई जिल्ला अदालतमा पेश गरी अनुशन्धानका लागि ७ दिनको म्याद लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट