कुवेतमा विषाक्त मदिरा प्रकरणः १२ नेपालीको मृत्यु, बाँचेकालाई ‘कालोसूची’ र देशनिकालाको तयारी

राजधानी– कुवेतमा विषाक्त मदिरा सेवनका कारण नेपालीसहित २३ जनाको मृत्यु भएपछि स्थानीय अधिकारीहरूले उपचारपछि बाँचेकाहरूमाथि कडा कारबाही गर्ने तयारी गरेका छन्। अस्पतालमा उपचार गरी डिस्चार्ज भएका नेपालीसहित विदेशी कामदारहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
उनीहरूलाई ‘कालोसूचीमा राखी देशनिकाला गर्ने प्रक्रिया अघि बढाइएको’ कुवेतका सञ्चारमाध्यमहरूले जनाएका छन्। गत साता कुवेतमा मेथनोल मिसिएको अवैध मदिरा सेवन गर्दा १२ नेपालीसहित २३ जनाको मृत्यु भएको थियो। विषाक्त मदिरा सेवन गरेर बिरामी भएका ४० भन्दा बढी नेपाली उपचारमा रहेका थिए, जसमा केही अझै पनि गम्भीर अवस्थामा छन्।
नेपाली दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यका अनुसार हालसम्म १२ नेपालीको मृत्यु पुष्टि भइसकेको छ भने २६ जना विभिन्न अस्पतालमा उपचाररत छन्। तीमध्ये ११ जनाको आईसीयू वा भेन्टिलेटरमा उपचार भइरहेको छ।
कुवेतमा मदिरा सेवन र बिक्रीवितरण कानूनी रूपमा प्रतिबन्धित छ। तर घरेलु रूपमा उत्पादन हुने अवैध मदिरा आपूर्ति गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। कुवेतको आन्तरिक मन्त्रालयले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये नेपाली, भारतीय र बाङ्ग्लादेशी नागरिक समेत छन्। उनीहरूमध्ये केहीलाई हत्याको अभियोगमा मुद्दा चल्न सक्ने बताइएको छ।
सुरक्षास्रोतहरूलाई उद्धृत गर्दै द टाइम्स अफ कुवेत ले अस्पतालबाट बाँचेकाहरूमाथि कडा कारबाही हुने, उनीहरूलाई तत्काल देशनिकाला गरी पुनः कुवेत प्रवेशमा रोक लगाउने तयारी भइरहेको उल्लेख गरेको छ। अनुसन्धानका क्रममा पक्राउ परेकालाई ‘कालोसूचीमा’ राखी भविष्यमा रोजगारीका लागि समेत निषेध गर्न सकिने जनाइएको छ।
यसबीच, कुवेतस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अध्यक्ष दिलकुमार पाख्रिनले पक्राउ परेकामध्ये दुई नेपाली अवैध मदिरा उत्पादनमा संलग्न रहेको प्रारम्भिक जानकारी आएको बताए। उनले भने, ‘मदिरा उत्पादन गर्नेहरूमध्ये पनि नेपाली संलग्न भएको बुझिएको छ। उनीहरूलाई हत्याको अभियोग चलाउने चर्चा छ।’
विशेषज्ञका अनुसार मेथनोल उद्योगमा प्रयोग हुने अत्यन्तै विषालु रसायन हो, जुन सस्तो घरेलु मदिरामा मिसाइएमा केही पेग मात्र सेवन गर्दा पनि ज्यान जान सक्छ। नेपालका विधिविज्ञान विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार, ‘यो एक पेग खायो भने पनि ज्यान जाने अवस्था हुन्छ। यसले शरीरको रगतलाई अम्लीय बनाइदिन्छ, मेटाबोलिजम बिगार्छ र श्वासप्रश्वासदेखि मुटु तथा कलेजोसहितका अंग काम गर्न नसक्ने स्थितिमा पुग्छ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले समेत अवैध रूपमा उत्पादन हुने मदिरामा मेथनोल मिसावट हुने चेतावनी दिँदै आएको छ। यसले १२ देखि २४ घण्टामा विषाक्त असर देखाउने र अन्धोपन, पेट दुख्ने, शरीर गल्ने, बेहोस हुनेदेखि मृत्यु हुनेसम्मका गम्भीर लक्षण देखापर्ने जनाएको छ।
कुवेतस्थित नेपाली दूतावासले मृतक नेपालीको परिवारलाई जानकारी गराउँदै घाइतेहरूको उपचार तथा उद्धारमा समन्वय गरिरहेको जनाएको छ। श्रमसहचारी आचार्यका अनुसार, ‘उपचारपछि ठिक भएका नेपालीहरूलाई पनि प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ।’
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू अझै जोखिममा रहेको देखाएको छ। विशेषज्ञहरू भन्छन्, सस्तो र कडा मात खोज्ने प्रवृत्तिले श्रमिकहरू विषाक्त मदिराको शिकार हुने गरेका छन्। डा. वस्तीका अनुसार, ‘स्वास्थ्यलाई ख्याल नगरी यस्तो घरेलु मदिरा सेवन गर्नु पूर्ण रूपमा घातक छ। सुरक्षित तरिकाले रमाइलो गर्ने संस्कार विकास गर्न जरुरी छ।’
कुवेतको पछिल्लो निर्णय कार्यान्वयन भएमा, विषाक्त मदिरा सेवनमा संलग्न वा पक्राउ परेका नेपालीहरूलाई देशनिकाला गरी कालोसूचीमा राखिने निश्चित देखिन्छ, जसले उनीहरूको भविष्यको रोजगारी र जीवनमा ठुलो असर पार्नेछ।