‘चरी’ कनेक्सन जोडेर चरित्र हत्या हुन थालेपछि खुश्बु ओलीको काउन्टर अट्याक— साइबर ब्युरोमा उजुरी

काठमाडौँ— गण्डा नाईको चरी (दिनेश अधिकारी) सँगको पुरानो सम्वन्धलाई लिएर सामाजिक सञ्जालमा तीव्र रूपमा आक्रमणको शृंखला नै सुरु भएपछि राप्रपाकी सांसद खुश्बु ओलीले साईबर ब्युरोमा उजुरी दिएकी छिन्। आफ्ना विरुद्ध योजनाबद्ध रूपमा ‘चरित्र हत्या’ गरिएको दाबी गर्दै उनले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा औपचारिक उजुरी दर्ता गराएकी हुनन्।

सोमबार फेसबुकमार्फत सार्वजनिक जानकारी दिँदै सांसद ओलीले केही फेसबुक पेज, टिकटक अकाउन्ट र युट्युब च्यानलहरूलाई लक्षित गर्दै आफूविरुद्ध सुनियोजित ढंगले भ्रामक र आधारहीन सामग्री प्रसारण गरिएको आरोप लगाएकी छिन्। उनका अनुसार ती सामग्री केवल आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको सीमाभित्र नपरी प्रत्यक्ष रूपमा व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले तयार पारिएको ‘अर्गनाइज्ड क्याम्पेन’को हिस्सा हुन्।

यस्ता गतिविधि लोकतान्त्रिक अभ्यास नभई नियोजित दुष्प्रचार भएको र जसले व्यक्ति मात्र होइन, समग्र राजनीतिक संस्कारलाई समेत क्षति पु¥याउनले उनको भनाई छ। ओलीका अनुसार उनले प्रारम्भिक चरणमै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो सामग्री हटाउन आग्रह गरेकी थिइन्। तर चेतावनीलाई बेवास्ता गर्दै निरन्तर रूपमा आरोप–प्रत्यारोप फैलाइएपछि आफू बाध्य भएर साइबर ब्युरोमा उजुरी दिन पुगेको उनको भनाइ छ।

‘यो सामान्य असहमति होइन, योजनाबद्ध रूपमा गलत सूचना फैलाउने प्रयास हो,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेकी छन्। यतिवेला सामाजिक सञ्जालमा उनको विगतसँग जोडिएका पुराना विवादहरू तीव्र रूपमा चर्चामा छन्। तत्कालिन समयका कथित ‘गुन्डा नाइके’ दिनेश अधिकारी (चरी) सँग जोडेर अहिले उनको विषयमा भिडियोहरु फेसवुक तथा टिकटकहरुमा फैलिएका छन्।

त्यसवेला उनले अधिकारीसँग आफ्नो सम्बन्ध व्यक्तिगत र पारिवारिक भएको दाबी गर्दै उनको हत्या ‘इन्काउन्टर’ नभई प्रतिशोधजन्य षड्यन्त्रको परिणाम भएको आशंका व्यक्त गरेकी थिइन्। त्यतिबेला सार्वजनिक भएका ती अभिव्यक्तिहरू अहिले पुनः सामाजिक सञ्जालमा तोडमोड गरेर प्रस्तुत गरिएको भन्दै ओलीले आपत्ति जनाएकी छन्। उनका अनुसार विगतका सन्दर्भलाई वर्तमान राजनीतिक भूमिकासँग जोडेर प्रस्तुत गर्नु नियोजित रूपमा चरित्रहत्या गर्ने प्रयास भएको उनको भनाई छ।

केही समूहले पुराना घटनालाई पुनर्जीवित गर्दै आफूलाई बदनाम गराउने रणनीति अपनाइरहेको उनले वताएकी छिन्। २०७१ साउन २ गते प्रहरीसँगको मुठभेडमा चरीको मृत्यु भएको थियो। चरीको पार्थिव शरीरमा उनकी प्रेमिका खुश्वुले पनि श्रद्धान्जली दिएकी छन्।

चरीलाई श्रद्धान्जली दिएपछि उनले शवयात्रामा देखिएको जनसहभागिताले चरी को हो भन्ने पुष्टि भएको बताएकी थिईन। प्रहरीले मात्रै उनलाई डनको ट्याग लगाएको भन्दै खुश्बुले अब आफ्नो शक्ति भनेको जनता भएको बताएकी थिईन।

उनीहरूको चिनजान चरी मारिनु डेढ वर्ष अघि भएको थियो। खुश्वुले त्यसबेला एउटा अखबारलाई दिएको अन्तरवार्तामा नै यो स्वीकार गरेकी छन् । परिवारले पनि चरीलाई मन पराएका कारण पारिवारिक सम्बन्ध रहेको उनले स्वीकारेकी थिइन्। लभ अफेयर नभएको दाबी गर्दै उनले आफुले चरीलाई मन पराउनेचाहीँ स्वीकारेकी थिइन्।

साउनमा मारिएका चरीसँग उनले असोजमा इन्गेजमेन्टको तयारी गरेकी थिइन्। उनले चरीको अपराध कर्मलाई सत्कर्ममा बदल्न सकिने बताएकी थिइन्। रत्नाकर डाँकुसहित विश्वका कुख्यात अपराधी पनि सत्कर्ममा लागेको उदाहरण दिएर चरी सप्रिन थालेको उनले बताउँदै आएकी थिइन्।

खुश्वुले चरी हत्यामा उनका साथी मानिने अर्पण कोइराला र प्रहरी इन्स्पेक्टर इन्काउन्टर स्पेशलिष्ट कुमोद ढुङ्गेलको रणनीतिक योजना रहेको दाबी गरेकी थिइन्। खुस्वुले पछि लन्डननिवासी सन्तोष कार्कीसँग विवाह गरिकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट