बालेनको सम्पत्ति विवरणः वास्तविक आर्थिक अवस्था कि ‘कागजी घोडा’? विवाहको फोटोले दियो शंकाको ठाउँ
काठमाडौँ— प्रधानमन्त्री बालेन्द्र साहले सार्वजनिक गरेको सम्पत्ति विवरणपछि उनको आर्थिक संरचनामाथि गम्भीर बहस सुरु भएको छ। विवरणमा देखाइएको घरजग्गा, बैंक ब्यालेन्स र सुनचाँदीको परिमाणले पारदर्शिताको सट्टा विरोधाभास र प्रश्नहरूको सूची बढाएको विश्लेषकहरू बताउँछन्।
विवरणअनुसार साह परिवारको सम्पत्तिमा मुख्य रूपमा घरजग्गा, नगद र सुनचाँदी देखाइएको छ। तर गाडी, ऋण, सापटी वा वित्तीय दायित्वबारे कुनै स्पष्ट विवरण उल्लेख छैन, नत आम्दानीको स्रोत नै चित्तवुझ्दो छ। उनले ‘आम्दानीको स्रोत’ भन्दै सामाजिक सञ्जाल देखाएका छन्। तर, लगभग तीन वर्ष काठमाडौँ महानगरपालिकाको मेयर हुँदाका बखतको चलनभत्ता समेत सम्पत्ति विवरणमा कतै उल्लेख छैन। त्यसैले विवरण अधुरो भएको टिप्पणी गरिएको छ।
विशेषगरी वित्तीय आवागमनको सम्पूर्ण चित्र नआउँदा वास्तविक आर्थिक स्थिति बुझ्न कठिन भएको देखिन्छ। सबैभन्दा बढी चर्चा पत्नी सविना काफ्लेको नाममा देखाइएको १९० तोला सुन, चाँदी र गहनामा केन्द्रित भएको छ। विवरणअनुसार १९० तोला सुनको मूल्य आजको बजार भाउअनुसार करिब ६ करोड रुपैयाँ आसपास पुग्ने अनुमान छ।
स्रोत भने पैतृक रहेको उल्लेख गरिएको छ। जसले यो सम्पत्ति पुस्तौंदेखिको रहेको दाबीलाई आधार बनाएको छ। तर, यो विवरणसँगै सामाजिक सञ्जालमा बालेन र सविनाको विवाहको फोटो सार्वजनिक गर्दै सम्पत्तिको तुलनासहित प्रश्नहरु उठाईएका छन्। प्रश्न स्वभाविकै लाग्छन्। किनकी दक्षिण एसियाली परम्परामा विवाहका बेला महिलाले ठूलो मात्रामा गहना लगाउने चलन छ। धनसम्पत्ति नहुनेले आफन्त तथा छरछिमेकमा मागेर समेत गहना लगाउने र लगाई दिने परम्परा छ।
तर, बालेन र सविनाको विवाहको फोटोमा सामान्य गहना मात्र देखिन्छ। उनिहरुको विवाह र प्रारम्भिक जीवनशैलीको दृश्यसँग वर्तमानको विवरण मेल नखाएको आलोचकहरुले तर्क अघि सारेका छन्। प्रेम विवाह भएको भनिएको बालेन र सविनाको विवाह फोटोमा सामान्य गहनामात्रै देखिन्छन्।
पैत्रिक सम्पत्ति भए विवाहका वेला त्यो गहनाको प्रयोग किन देखिएन भन्ने अधिकांशको प्रश्न देखिन्छ। विवाहको छोटो अवधिमै ठूलो सम्पत्ति वृद्धि देखिनु अस्वाभाविक भएको टिप्पणी विश्लेषकहरूको छ।
यसैबीच, बैंक ब्यालेन्स पनि उल्लेखनीय देखिन्छ। विवरणअनुसार बालेनका नाममा करिब डेढ करोड रुपैयाँ बैंक मौज्दात रहेको छ। तर त्यसको स्रोत र आर्थिक प्रवाहबारे विस्तृत विवरण खुलेको छैन। १९० तोला सुन, करोडौँ बैंक ब्यालेन्स र उल्लेखनीय घरजग्गा देखिनु सामान्य आर्थिक संरचनाभन्दा बाहिरको विषय भएको भन्दै आलोचना तिव्र छ।
यसले सम्पत्ति विवरणको पारदर्शिता र यथार्थबीचको दूरीमाथि बहस सिर्जना गरेको छ। सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि त्यसको व्याख्या, स्रोत र आर्थिक प्रवाह स्पष्ट नहुँदा यस्ता विवरणहरूले पारदर्शिताभन्दा बढी संशय पैदा गर्ने विश्लेषकहरूको निष्कर्ष छ। अहिलेको अवस्थामा सबैभन्दा ठूलो प्रश्न यही बनेको छ— देखाइएको सम्पत्ति वास्तविक आर्थिक अभ्यासको परिणाम हो कि केवल कागजी घोडा?
