सम्पत्ति विवरणको चर्को बहसका बीचमा हर्क साम्पाङको खुलासा— मेरो नाममा केही छैन

राजविराज— सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेपछि चौतर्फी वहस चर्किरहेका वेला श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आफ्नो व्यक्तिगत सम्पत्तिबारे प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो नाममा ठूलो सम्पत्ति नरहेको दाबी गर्दै सीमित नगद, थोरै सुन र पैतृक सम्पत्तिको अवस्था मात्र रहेको स्पष्ट पारेका छन्। साम्पाङका अनुसार उनको नाममा उल्लेखनीय घरजग्गा वा ठूलो आर्थिक सम्पत्ति छैन। उनले वैदेशिक रोजगारीको क्रममा जोडिएको करिब चारदेखि पाँच तोला सुन र बैंक खातामा करिब दुईदेखि चार लाख रुपैयाँ मात्र रहेको उल्लेख गरेका छन्। उनले यी विवरणहरू पनि छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफ्नो पैतृक सम्पत्तिबारे पनि स्पष्ट पार्दै खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने क्षेत्रमा रहेको केही खेतबारी र पाखा जग्गा आमाको नाममा रहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त जग्गा भिरालो पाखा क्षेत्रमा रहेको सामान्य कृषि भूमि हो, जसमा बाँस र उतीसको घारी छ।

साम्पाङले पारिवारिक अंशबण्डा प्रक्रिया समेत पूर्ण रूपमा सम्पन्न नभएको उल्लेख गर्दै दाजु–दिदीहरूले समेत अंश नलिएको स्थिति रहेको बताएका छन्। यसका कारण आफ्नो व्यक्तिगत नाममा कुनै ठूलो सम्पत्ति नरहेको उनको भनाइ छ।

सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा उच्च पदस्थ राजनीतिक नेतृत्व र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको बहसलाई संकेत गर्दै उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्। विशेषगरी ठूला आर्थिक विवरण र लगानीबारे प्रश्न उठिरहेका बेला उनले आफ्नो पारदर्शिता देखाउन यो जानकारी सार्वजनिक गरेको बताएका छन्।

उनको भनाइ अनुसार केही दिनभित्र विस्तृत सम्पत्ति विवरण औपचारिक रूपमा सार्वजनिक गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट