श्रीमतीको हत्या गरी भान्सामा शव गाडेर ४ दिनदेखि घरमै बसेका श्रीमान पक्राउ

काठमाडौँ– अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरी घरकै भान्छा कोठामा शव गाडेको घटना सार्वजनिक भएको छ। अनुसन्धानका क्रममा मृतक महिलाको शव उत्खनन गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। श्रीमान् पक्राउ परेका छन्।
प्रहरीले श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरुङको हत्या गरेको आरोपमा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरेको हो। उनी विगत आठ वर्षदेखि श्रीमती र ९ वर्षकी छोरी सरुसँग पातलेपाखरामा घर किन्नेर बस्दै आएका थिए। विगत केही दिनदेखि सुमित्रा हराएकी थिइन्। माइती पक्षले उनको खोजी गरिदिन प्रहरी चौकी बाल्कोटमा १६ भदौमा सूचना दिएको थियो।
खोजतलास र अनुसन्धानका क्रममा सुमित्राको शव घरको भान्छा कोठामा गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, १२ भदौको राति १२ बजेतिर श्रीमान–श्रीमतीबीच विवाद भएपछि हत्या भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्र मल्लका अनुसार किरणले बाँसको भाँटा र हंसियाको प्रयोग गरी सुमित्राको हत्या गरेका थिए। त्यसपछि कम्बलमा शव पोको पारेर भान्छाकोठामा खाल्डो खनेर गाडिएको अनुसन्धानमा खुलेको छ।
डीएसपी मल्लका अनुसार, घरभित्र गन्ध आएपछि प्रहरीले उत्खनन गरी राति शव निकालेको थियो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। किरणमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा थिए र दुवैको दोस्रो विवाह भएको थियो। किरणको पूर्वविवाहबाट दुई छोरी र सुमित्राको पूर्वविवाहबाट तीन छोरी रहेको पाइएको छ। प्रहरीका अनुसार, हत्या गर्ने बेला किरणले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनापछि किरण घरमै बसेको र छोरीलाई धम्की दिएकाले बालिकाले घटना बाहिर नबताएको अनुसन्धानले देखाएको छ।
हत्या स्थलबाट प्रयोग भएको बाँसको लठ्ठी, हंसिया, शव गाड्न प्रयोग भएको गैंती, बेल्चा र सानो कोदालो बरामद गरिएको छ। त्यस्तै, मदिराको ‘ओरेन्ज’ लेखिएको खाली बोत्तल र भरी बोत्तल पनि भेटिएको छ। अर्घाखाँची प्रहरी र अनुसन्धान टोलीले घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान जारी राखेको छ।